प्रहार समाचार । काठमाडौँ, २७ साउन २०८३ बुधबार । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न क्षेत्रमा वर्षा, मेघगर्जन र चट्याङको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ।

कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो कोशी र मधेस प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। ती क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। मधेस तथा कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
रातिसमेत देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानसँगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका विभिन्न क्षेत्रमा समेत वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, पर्यटन, पर्वतारोहण, कृषि र दैनिक जनजीवन प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ। भारी वर्षा भएका क्षेत्रमा गेग्रानसहितको बहाव, आकस्मिक बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नसक्ने भएकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
विशेषगरी नदी तथा खोलानाला आसपास, पहिरोको जोखिम रहेका बस्ती र सडक क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ। वर्षाका कारण स्वास्थ्य सेवा तथा यातायातमा समेत असर पर्नसक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक पूर्वतयारी तथा सावधानी अपनाउन आग्रह गरिएको छ।
.















