हेडलाईनव्याससमाचारगण्डकी

बाढीले बगाएका भैंसी खोज्दै तनहुँका प्रहरी नदीमा खटिए : तीनको सकुशल उद्धार

प्रहार समाचार । तनहुँ, २९ साउन २०८३ शुक्रबार । मादी नदीमा आएको बाढीले बगाएका पाँच भैंसीमध्ये तीन वटालाई प्रहरीले सकुशल उद्धार गरेको छ । व्यास नगरपालिका–५ साँगेस्थित साँगे र मादी नदीको दोभानमा चराउन लगिएका भैंसीमध्ये दुई ठूला भैंसीलाई मादी पुलबाट र एउटा सानो पाडोलाई बिसघरे घाटबाट प्रहरीले उद्धार गरेको हो ।

चापाघाट निवासी ३३ वर्षीय पदमकुमार श्रेष्ठले चराउन लगाएका पाँच भैंसीमध्ये दुई ठूला र तीन साना भैंसी बाढीको भेलमा बगेका थिए । घटना बुधबार दिउँसो करिब ४ः३० बजे भएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक अमृत लामिछानेको कमाण्डमा सात जनाको टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो ।

प्रहरी टोलीले बाढीले बगाएका दुई ठूला भैंसीलाई घटनास्थलबाट करिब तीन किलोमिटर तल मादी पुलबाट सकुशल नियन्त्रणमा लिएको थियो । त्यसैगरी प्रहरी नायब निरीक्षक उमेश बस्नेतको कमाण्डमा खटिएको पाँच सदस्यीय अर्को टोलीले करिब पाँच किलोमिटर तल बिसघरे घाटबाट एउटा सानो पाडोको समेत सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

बाढीको तीव्र बहावका कारण अझै दुई साना पाडा भने बेपत्ता छन् । उनीहरूको खोजी कार्य प्रहरीले जारी राखेको छ । अचानक आएको बाढीका कारण पशुचौपायासमेत जोखिममा परेपछि प्रहरीले तत्काल परिचालन भएर नदी किनार तथा सम्भावित स्थानमा खोजी र उद्धार अभियान सञ्चालन गरेको हो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button