• विजय अधिकारी ( संवाददाता ) लमजुङ, २६ साउन २०८३ मङ्गलबार । खाना पकाउने एलपी ग्यासको अभावले उपभोक्ता तनावमा रहेका बेला लमजुङ सदरमुकाम बेँसीशहरमा आज ६ सय ९० सिलिन्डर ग्यास भित्रिएको छ। मनाङ–मर्स्याङ्दी ग्रुपमा ल्याइएको ग्यास भने मुख्य डिलरबाटै उपभोक्तालाई प्रत्यक्ष बिक्री वितरण गर्न रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले उपभोक्तालाई डिलरमा लाइन लागेर ग्यास नलिन आग्रह गर्दै नियमित रूपमा ग्यास खरिद गर्दै आएको रासन तथा खुद्रा विक्रेता पसलबाट मात्रै ग्यास लिन भनेको छ। प्रशासनका अनुसार प्राप्त ग्यास बेँसीशहर बजारसहित भकुण्डे, गाउँशहर, बिम्दाक्षेत्र, मर्स्याङ्दी, क्व्होलासोथार तथा मनाङ क्षेत्रका रासन तथा ग्यास विक्रेता पसलहरूमा पठाइएको छ। मुख्य डिलरबाट व्यक्तिगत रूपमा ग्यास वितरण रोकिएपछि उपभोक्ताले आफ्नो नियमित खुद्रा विक्रेतासँग सम्पर्क गरेर ग्यास लिनुपर्ने भएको छ। तर, बजारको मागको तुलनामा भित्रिएको ६ सय ९० सिलिन्डर ग्यास पर्याप्त नभएकाले अभाव तत्कालै हट्ने अवस्था भने देखिएको छैन।

यता, जिल्ला प्रशासन कार्यालयले ग्यास आपूर्ति अब क्रमशः नियमित हुँदै जाने जनाएको छ। प्रशासनका अनुसार आज, भोलि र पर्सी मनाङ–मर्स्याङ्दी ग्रुप तथा प्रभु सप्लायर्समा समान संख्यामा ग्यास आउने जानकारी प्राप्त भएको छ। यसरी लगातार तीन दिन ग्यास भित्रिने भएपछि बजारमा देखिएको चर्को अभाव केही सहज हुने प्रशासनको अपेक्षा छ। तर, उपभोक्ताको वास्तविक माग कति हो र आउने ग्यासले त्यसको कति हिस्सा धान्छ भन्ने विषय भने स्पष्ट छैन।ग्यास अभावकै कारण उपभोक्ता डिलरमै धाउनुपर्ने र घण्टौँ लाइन बस्नुपर्ने अवस्था देखिएपछि प्रशासनले वितरण प्रणालीलाई खुद्रा पसलमार्फत अघि बढाएको हो।

प्रशासनले आगामी दिनमा समेत ग्यास ल्याउने व्यवस्था मिलाइने भन्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ। कहाँ कति ग्यास पठाइयो भन्ने विवरण सार्वजनिक नगरे पनि बेँसीशहरदेखि ग्रामीण क्षेत्र र मनाङसम्म ग्यास वितरण गरिएको प्रशासनको भनाइ छ। अब मुख्य प्रश्न भनेको—६ सय ९० सिलिन्डरले बजारको माग कति दिन धान्छ र आगामी दिनमा आउने भनिएको ग्यास वास्तवमै सहज रूपमा उपभोक्ताको चुलोसम्म पुग्छ कि पुग्दैन भन्ने हो।















