प्रहार समाचार । काठमाडौं, २६ साउन २०८३ मङ्गलवार । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तर अर्थात् नेपाल नजिक र पूर्वी भूभागमा सरदर स्थान आसपास रहेको छ।

हाल कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकीका तराई भूभागका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।आज कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। यस्तै, आज राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै सडक तथा बस्ती आसपास डुबान र कटानको जोखिम बढ्न सक्ने देखिएको छ।मौसम विभागले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नसक्ने भन्दै जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। लगातारको वर्षाले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलानाला आसपास नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनालाई गम्भीरतापूर्वक पालना गर्न विभागले अनुरोध गरेको छ।















