प्रहार समचार । काठमाडौँ, २८ साउन २०८३ बिहीबार । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पाँच महिनापछि आज काठमाडौं फर्किंदै छन्। थाई एयरलाइन्सको उडानबाट बैंकक हुँदै उनी आज दिउँसो १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पूर्वनिर्धारित तालिका रहेको अध्यागमन स्रोतले जनाएको छ।

स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदर्शनकारीबाट शारीरिक आक्रमण तथा दुर्व्यवहारमा परेपछि लामो समय सार्वजनिक गतिविधिबाट टाढा रहेका थिए। देउवा स्वदेश फर्किने भएपछि विमानस्थलदेखि उनको निवाससम्म सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ। काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार विमानस्थलको सिनामंगलस्थित गोल्डेनगेटदेखि महाराजगञ्ज चुनादेवीस्थित देउवाको निवाससम्म सुरक्षाकर्मीको एस्कर्टसहित लैजाने व्यवस्था मिलाइएको छ।
देउवालाई पक्राउ वा धरपकड गर्ने कुनै योजना नरहेको प्रहरीले स्पष्ट पारेको छ। देउवाको स्वागतका लागि विमानस्थल पुग्न चाहने कांग्रेस कार्यकर्तालाई भने अन्तर्राष्ट्रिय टर्मिनलको आगमन द्वारसम्म जान दिइने छैन। प्रहरीले कार्यकर्तालाई गोल्डेनगेटसम्म भेला हुन अनुमति दिने भएको छ भने आगमन कक्षमा पार्टीका केही शीर्ष नेतालाई मात्रै प्रवेश दिइनेछ। विमानस्थलको संवेदनशील क्षेत्रको प्रवेश तथा भीड व्यवस्थापनको जिम्मेवारी सम्बन्धित निकायले सम्हाल्ने भएको छ।
स्वास्थ्य उपचारपछि देउवाको स्वदेश फिर्तीलाई नेपाली कांग्रेसभित्र मात्रै नभई राष्ट्रिय राजनीतिक वृत्तमा समेत चासोका साथ हेरिएको छ। जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच लामो समय विदेशमा रहेका देउवा अब पुनः काठमाडौं फर्किएसँगै उनको आगामी राजनीतिक सक्रियता र पार्टीभित्रको भूमिकाबारे पनि चर्चा बढ्ने देखिएको छ।
















