लुम्बिनीकोशीमदेशविचारकर्णालीसुदुर पश्चिमगण्डकीबागमती

गरिबको रोजीरोटी खोस्ने होइन, उनीहरूको जीवन बुझ्ने राज्य चाहिन्छ

‘राज्यको दायित्व नागरिकलाई तर्साउनु होइन, उनीहरूको जीवन सहज बनाउनु हो। सार्वजनिक स्थान व्यवस्थित गर्नु, सडक अतिक्रमण रोक्नु र सहरी सौन्दर्य कायम गर्नु सरकार तथा स्थानीय तहको जिम्मेवारी हो। तर विकास र व्यवस्थापनका नाममा गरिब तथा श्रमजीवी नागरिकको रोजीरोटी खोस्ने धम्की दिनु कदापि न्यायोचित हुन सक्दैन।’ भन्दै विकास भुजेल लेख्छन् :

हालै एक जना माननीय सांसदले ठेला गाडामा सामान राखेर आफ्नो परिवारको जीविकोपार्जन गरिरहेका व्यक्तिलाई महानगरको धाक देखाउँदै ‘तेरो सामान फालिदिन्छु’ भन्दै धम्क्याएको दृश्य सार्वजनिक भएको छ। यस्तो व्यवहारले जनप्रतिनिधिको जिम्मेवारी, नागरिकप्रतिको संवेदनशीलता र लोकतान्त्रिक संस्कारमाथि नै प्रश्न उठाएको छ। माननीयज्यू, सबै नागरिकको जीवन तपाईंको जस्तो सुविधासम्पन्न हुँदैन। आफ्नो विगत र संघर्षका दिनहरू पनि स्मरण गर्नुस्। आफू कुन धरातलबाट उठेर आज यो स्थानसम्म आइपुग्नुभयो भन्ने कुरा कहिल्यै नबिर्सनुस्।


दसैँ, तिहारजस्ता ठूला चाडपर्वका बेला ठेला गाडामा सामान बेचेर गुजारा गर्ने मानिसहरूको पीडा झन् गहिरो हुन्छ। उनीहरू दिनभरि सडकमा उभिएर, घामपानी नभनी पसिना बगाएर केही पैसा कमाउँछन्। त्यही कमाइबाट साँझ परिवारको पेट भर्नुपर्छ, छोराछोरीको पढाइ खर्च जुटाउनुपर्छ र घरका आधारभूत आवश्यकता पूरा गर्नुपर्छ। उनीहरूका लागि त्यो ठेला गाडा केवल व्यापार गर्ने साधन होइन, परिवारको भविष्य धान्ने आधार र जीवनको सहारा हो।


तपाईंका लागि सडकमा उभिएको एउटा ठेला गाडा सहरी अव्यवस्थाको कारण हुन सक्छ। तर त्यही ठेला गाडा कसैका लागि बिहान घरबाट निस्कँदा बोकेको आशा र साँझ घर फर्कँदा परिवारको चुलो बाल्ने माध्यम हो। सडक किनारमा सामान बेच्ने ती नागरिक रहरले होइन, बाध्यताले त्यहाँ पुगेका हुन सक्छन्। उनीहरू पनि यही देशका नागरिक हुन्। उनीहरूलाई पनि सम्मानपूर्वक बाँच्न र श्रम गरेर खान पाउने अधिकार छ।

सहर सुन्दर बनाउने चाहना गलत होइन। व्यवस्थित सडक, सफा बजार र सहज आवागमन सबै नागरिकको चाहना हो। तर सहरको सुन्दरता त्यहाँ बस्ने र श्रम गर्ने नागरिकको अनुहारमा देखिने खुसीसँग पनि जोडिएको हुन्छ। सडक चिटिक्क पारेर मात्र सहर सुन्दर हुँदैन, त्यही सहरमा श्रम गरेर बाँचिरहेका नागरिकको जीवन पनि सुरक्षित र सम्मानित हुनुपर्छ। सहर व्यवस्थित बनाउने नाममा सहरकै अर्थतन्त्र धानिरहेका श्रमिकहरूको जीवन कुरूप बनाउनु हुँदैन।अन्ततः राज्यले बुझ्नुपर्ने कुरा एउटै हो—गरिबी अपराध होइन, श्रम गरेर खानु अपमान होइन र सानो व्यवसाय गर्नु कसैको कमजोरी होइन। नियम सबैका लागि समान हुनुपर्छ। कानुनको कार्यान्वयन गर्दा धनी र गरिबबीच विभेद हुनुहुँदैन।

न्यायको अनुभूति सडकमा ठेला गुडाउने नागरिकले पनि गर्न पाउनुपर्छ। लोकतन्त्रमा नागरिकको सम्मानभन्दा ठूलो कुनै पद, प्रतिष्ठा र शक्ति हुन सक्दैन।त्यसैले गरिबको रोजीरोटी खोस्ने होइन, उनीहरूको जीवन बुझ्ने राज्य निर्माण गरौँ। परिश्रमको सम्मान गरौँ, श्रमिकको आत्मसम्मान जोगाऔँ र विकासलाई मानवीय संवेदनासँग जोडौँ। किनकि एउटा ठेला गाडामा केवल सामान हुँदैन, त्यहाँ एउटा परिवारको सपना, संघर्ष र भविष्य पनि जोडिएको हुन्छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button