प्रहार समाचार । चितवन , २३ कात्तिक २०८३ सोमबार । चितवन — मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहानै खसेको पहिरोले सडकको दुवैतर्फ आवागमन ठप्प पारेपछि मुग्लिन हुँदै काठमाडौं जाने र आउने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

राति करिब ३ बजेतिर खसेको पहिरोले राजमार्ग अवरुद्ध बनाएपछि सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको हो। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्र भुसन यादवका अनुसार पहिरोका कारण सडक दुवैतर्फ बन्द भएको छ। नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले राति नै पहिरो पन्छाउने प्रयास गरिए पनि पूर्ण रूपमा सडक खुल्न नसकेको जानकारी दिएका छन्।
रातभर पहिरोको अवरोध र बिहानैदेखि सडक खुलाउने प्रयास जारी रहे पनि यात्रुले कहिलेसम्म सास्ती खेप्नुपर्ने हो भन्ने टुंगो छैन। बिहानैदेखि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको छ। मुग्लिन–काठमाडौं आवागमनको प्रमुख मार्गमै पहिरो खस्दा यात्रुहरू अलपत्र परेका छन् भने सवारीसाधनको आवतजावत ठप्प छ। पहिरो पूर्ण रूपमा हटाएर सडक सुरक्षित नबनाएसम्म यात्रा सहज हुने अवस्था छैन।
























