• विजय अधिकारी (संवाददाता) लमजुङ, २२ कात्तिक २०८३ आइतबार । लमजुङको सुन्दरबजार नगरपालिका–३, चन्द्रेश्वर च्यानपाटास्थित खजे पार्कमा खजे दुराको नयाँ शालिक पुनःस्थापना गरी अनावरण गरिएको छ।

खजे दुराको ५१औँ स्मृति दिवसको अवसर पारेर शनिबार गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य डा. टकराज गुरुङ र दुरा सेवा समाजका अध्यक्ष सुरेशकुमार दुराले संयुक्त रूपमा शालिक अनावरण गरेका हुन्।

शालिक पुनःनिर्माणका लागि डा. गुरुङ गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्री रहँदा आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत रकम विनियोजन गरिएको थियो। सोही बजेटबाट मिश्रित धातुबाट निर्मित नयाँ शालिक स्थापना गर्नुका साथै शालिक परिसरमा फलामे बार, प्रवेशद्वार र गेटदेखि शालिकसम्म पुग्ने बाटोमा पीसीसी ढलान सुधारको काम सम्पन्न गरिएको हो।

गत असारमै निर्माण सम्पन्न भएको संरचनालाई ५१औँ स्मृति दिवसको अवसर पारेर कात्तिक २१ गते औपचारिक रूपमा अनावरण गरिएको हो।शालिक अनावरण समारोहमा सुन्दरबजार नगरपालिकाका जनप्रतिनिधि, दुरा समुदायका अगुवा, आमा समूह, युवा क्लब तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

नयाँ शालिक पुनःस्थापनाले खजे दुराको स्मृति र ऐतिहासिक योगदानलाई जीवन्त राख्न तथा भावी पुस्तामाझ समुदायको इतिहास र पहिचान हस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। इतिहासलाई सम्झिने मात्र होइन, त्यसलाई संरक्षण गरेर भावी पुस्तासम्म पुर्याउनु पनि वर्तमान पुस्ताको दायित्व हो भन्ने सन्देश च्यानपाटामा स्थापित नयाँ शालिकले दिएको छ।



















