• याम दरै ( संवददाता ) तनहुँ, १५ असोज २०७३ बिहीबार । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाले तनहुँको व्यास नगरपालिका–१ विज्ञानचौर र व्यास–२ अमरापुरी जोड्ने बुल्दीखोलामा रहेको कजवेमा क्षति पुर्याएपछि विद्यार्थी तथा स्थानीयको नियमित आवतजावत प्रभावित बनेको छ।

कजवेको व्यास–१ तर्फको भागमा वर्षासँगै आएको बाढीले क्षति पुर्याएको हो। छोटो दूरीमा दुई वडालाई जोड्ने यो मार्ग दैनिक ठूलो संख्यामा विद्यार्थी तथा सर्वसाधारणले प्रयोग गर्ने भएकाले क्षतिग्रस्त संरचनाले आवतजावतमा जोखिम बढाएको छ।विशेषगरी विद्यालय तथा कलेज जाने विद्यार्थीका लागि यो मार्ग महत्वपूर्ण मानिन्छ। कजवे क्षतिग्रस्त भएपछि सामान्य आवतजावतसमेत जोखिमपूर्ण बन्न सक्ने अवस्था देखिएको छ। वर्षाका कारण सडक तथा पुलपुलेसामा क्षति पुग्नु प्राकृतिक विपद्को परिणाम भए पनि त्यसपछि आवश्यक मर्मत तथा पुनर्निर्माणमा हुने ढिलाइले स्थानीयको समस्या थप लम्बिन सक्ने भएकाले सम्बन्धित निकायले तत्काल स्थलगत निरीक्षण गरी आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने देखिएको छ।

विद्यार्थीको सुरक्षित आवतजावतसँग प्रत्यक्ष जोडिएको बुल्दीखोलाको उक्त कजवे तत्काल पुनर्निर्माण गर्न स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। वर्षापछि क्षतिग्रस्त संरचनालाई यथाशीघ्र सुरक्षित र व्यवस्थित बनाउनेतर्फ व्यास नगरपालिका तथा सम्बन्धित निकायले पहल नगरे दुर्घटनाको जोखिम बढ्न सक्ने स्थानीयको भनाइ छ। त्यसैले विपद्पछिको क्षति मूल्यांकनमा मात्र सीमित नभई प्राथमिकताका आधारमा कजवे पुनर्निर्माण गरी विद्यार्थी र सर्वसाधारणको सुरक्षित आवतजावत सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ।





















