प्रहार समाचार । तनहुँ, १४ असोज २०८३ बुधबार । तनहुँको दमौली स्थित व्यास नगरपालिका–२ बागबजार टोलमा आज विद्युत् पोलमा आगलागी हुँदा पोलमा अव्यवस्थित रूपमा जडान गरिएका इन्टरनेट तथा केबलका तारहरू जलेर ध्वस्त भएका छन्।

अचानक पोलबाट आगोको मुस्लो निस्किएपछि आसपासका स्थानीयमा त्रास फैलिएको थियो। आगलागीका कारण उक्त क्षेत्रका इन्टरनेट तथा केबल सेवा प्रभावित भएका छन्।आगलागीको खबर पाएलगत्तै स्थानीयले व्यास नगरपालिकाको दमकललाई खबर गरेका थिए भने जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोलीसमेत घटनास्थल पुगेको थियो। स्थानीय सुमन श्रेष्ठका अनुसार दमकल समयमै घटनास्थलमा पुग्न नसक्दा आगो नियन्त्रणमा लिन ढिलाइ भएको र यसका कारण पोलमा जडान गरिएका तारलगायतका संरचनामा थप क्षति पुगेको हो।
आगलागीको कारणबारे भने सम्बन्धित निकायबाट आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन। आगलागीपछि बागबजार आसपासको इन्टरनेट तथा केबल सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा, व्यवसायी तथा सेवाग्राही प्रत्यक्ष प्रभावित भएका छन्। विद्युत् पोलमा इन्टरनेट, टेलिफोन र केबलका तारको अव्यवस्थित जडानले जोखिम बढाएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। घटनाले शहरी क्षेत्रमा विद्युत् पोलमा जथाभावी टाँगिएका तार व्यवस्थापन र आपत्कालीन अवस्थामा दमकलको तत्काल पहुँचको विषय फेरि सतहमा ल्याएको छ।





















