प्रहार समाचार । तनहुँ, १४ असोज २०८३ बुधबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिको प्रतिस्पर्धामा आनन्दराज त्रिपाठीले बाजी मारेका छन् । त्रिकोणात्मक भिडन्तमा ३ सय ८६ मत प्राप्त गर्दै त्रिपाठीले ३ सय ६३ मत ल्याएका विश्वेश्वर खनाललाई २३ मतले पछि पार्दै क्षेत्रीय नेतृत्व आफ्नो हातमा पारेका हुन् ।

सभापतिका अर्का प्रतिस्पर्धी सूर्यचन्द्र हड्खलेले २ सय ५६ मतमा नै खुम्चन पुगे । यससँगै तनहुँ–१ कांग्रेसको क्षेत्रीय नेतृत्वका लागि भएको कडा शक्ति परीक्षणमा त्रिपाठीको पक्षमा मतपरिणाम उभिएको छ । प्राप्त मत परिणामले कांग्रेसभित्र रहेको बहुपक्षीय शक्ति संरचनालाई सतहमा ल्याइदिएको छ । तीन उम्मेदवारबीच भएको मत विभाजनले कुनै एक पक्षको एकछत्र प्रभावभन्दा पनि प्रतिनिधिहरूको मत तीन धारमा बाँडिएको स्पष्ट देखिन्छ । अन्तिम परिणाममा भने २३ मतले त्रिपाठीले निर्णायक अग्रता बनाउँदै सभापतिको कुर्सी कब्जा गरेका छन् ।

त्रिपाठीको जितसँगै अब तनहुँ–१ कांग्रेसको संगठनभित्र नयाँ शक्ति-समीकरण र नेतृत्वको परीक्षा सुरु भएको छ । निर्वाचनको मैदानमा देखिएको प्रतिस्पर्धाले नेतृत्व चयन मात्र होइन, आगामी दिनमा क्षेत्रीय संगठन कसरी चल्छ र फरक धारमा बाँडिएका कार्यकर्तालाई कसरी समेटिन्छ भन्ने प्रश्न पनि अगाडि ल्याएको छ । ३ सय ८६ मतसहित विजयी त्रिपाठीका लागि जित सुरक्षित भएको छ, तर ३ सय ६३ मत पाएका खनाल र २५६ मत पाएका हड्खलेले बनाएको मताधारले क्षेत्रीय राजनीतिमा प्रतिस्पर्धाको प्रभाव अझै कायम रहेको संकेत गरेको छ ।





















