हेडलाईनसमाचारगण्डकी

कांग्रेस केन्द्रीय सदस्यमा शोभा अधिकारीको उम्मेदवारी, गोरखाबाट केन्द्रमा नयाँ राजनीतिक हस्तक्षेपको संकेत

प्रहार समाचार । तनहुँ, १४ असोज २० ८३ बुधबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लेखक, साहित्यकार तथा युवा नेतृ शोभा अधिकारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। लामो समयदेखि विद्यार्थी राजनीति हुँदै पार्टी संगठन, साहित्य र प्राज्ञिक क्षेत्रमा सक्रिय अधिकारीको उम्मेदवारीसँगै कांग्रेसको केन्द्रीय नेतृत्वमा महिला, युवा र अध्ययन–अनुभव बोकेको पुस्ताको स्थानबारे बहस थप चर्किने देखिएको छ ।

गोरखा कांग्रेसले १५औँ महाधिवेशनका लागि अधिकारीलाई महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन गरेको छ।अधिकारीको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यका रूपमा तीन कार्यकाल काम गरेकी उनी पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनकी उपसभापतिसमेत रहेकी थिइन्। नेविसंघको राजनीतिमा वर्तमान कांग्रेस नेतृत्वका विभिन्न नेताहरूसँगै काम गरेको उनको पृष्ठभूमि छ। यसअघि पनि अधिकारी गोरखा कांग्रेसको संगठनमा महासमिति सदस्य तथा गण्डकी प्रदेशको राजनीतिक संरचनामा सक्रिय रहँदै आएकी थिइन्। २०७८ को कांग्रेस गण्डकी प्रदेश अधिवेशनमा उनी महिला सदस्यको उम्मेदवारसमेत बनेकी थिइन्।राजनीतिसँगै अध्ययन, अध्यापन र लेखनलाई समानान्तर रूपमा अघि बढाएकी अधिकारीले व्यवस्थापन तथा समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तर गरेकी छन् र त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि अध्ययन गरिरहेकी छन्।

२०५७ सालदेखि लेखन तथा प्रशिक्षणमा सक्रिय रहेको बताइएकी अधिकारीका सयौँ लेख–रचना प्रकाशित छन् भने ‘आमाको आँखा’ लघुकथा सङ्ग्रहलगायत कृति प्रकाशित छन्। ‘आमाको आँखा’ कृति २०८३ वैशाखमा लोकार्पण भएको सार्वजनिक विवरणसमेत छ। अधिकारीको केन्द्रीय सदस्यमा उम्मेदवारीलाई केवल एउटा पदको दाबीका रूपमा मात्र नभई कांग्रेसभित्र लामो समयदेखि उठ्दै आएको महिला सहभागिता, पुस्तान्तरण र प्राज्ञिक राजनीतिको प्रश्नसँग जोडिएको दाबीका रूपमा हेरिएको छ।

यसअघि स्थानीय तथा प्रदेश तहमा नेतृत्वको आकांक्षा प्रस्तुत गरिसकेकी अधिकारी अब पार्टीको सर्वोच्च संगठनात्मक संरचनामा आफ्नो राजनीतिक अनुभव र वैचारिक भूमिकालाई स्थापित गर्ने प्रयासमा छिन्। गोरखाबाट केन्द्रमा प्रतिनिधित्वका लागि उनको उम्मेदवारीले आगामी महाधिवेशनमा व्यक्तिगत प्रतिस्पर्धासँगै संगठनभित्रको पुस्तागत र लैंगिक प्रतिनिधित्वको बहसलाई समेत सतहमा ल्याउनेछ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button