प्रहार समाचार । तनहुँ, १४ असोज २०८३ बुधबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा जारी मतगणनाले प्रारम्भिक चरणमै नेतृत्वका आकांक्षीबीचको शक्ति संघर्ष सतहमा ल्याएको छ। चार सय मत गणना हुँदा क्षेत्रीय सभापतिमा आनन्दराज त्रिपाठीले १ सय ५२ मतसहित अग्रता बनाएका छन्। उनका निकटतम प्रतिस्पर्धी विश्वेश्वर खनालले १ सय ४० मत पाएका छन् भने सूर्यचन्द्र हड्खलेले ९१ मत प्राप्त गरेका छन्।

प्रारम्भिक परिणाममा त्रिपाठी र खनालबीचको अन्तर १२ मत मात्रै रहेकाले अन्तिम परिणामका लागि बाँकी मत निर्णायक बन्ने देखिएको छ। सचिव पदको मतगणनामा भने सरोज भण्डारीले तुलनात्मक रूपमा फराकिलो अग्रता बनाएका छन्। चार सय मत गन्दा भण्डारीले १ सय ९३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी तारा नरेश पौडेलले १ सय ५७ मत पाएका छन्। सचिवमा ३६ मतको अन्तर देखिए पनि सभापति पदमा प्रतिस्पर्धा निकै साँघुरो रहेकाले तनहुँ–१ कांग्रेसको नेतृत्वका लागि भइरहेको भिडन्त अझै खुला अवस्थामा छ।
प्रारम्भिक मतले कुनै समूहको पूर्ण वर्चस्व स्थापित गरिनसकेको संकेत गरेको छ। तनहुँ–१ मा कुल १ हजार ६८ मत खसेको छ, जसको आधाभन्दा कम अर्थात् चार सय मत मात्रै गणना भएको हो। त्यसैले अहिलेको परिणामलाई अन्तिम जनमतभन्दा प्रारम्भिक शक्ति परीक्षणका रूपमा हेरिएको छ। बाँकी ६ सय ६८ मत गणना हुन बाँकी रहेकाले सभापतिको दौडमा त्रिपाठीको अग्रता कायम रहन्छ वा खनाल तथा हड्खलेले परिणाम उल्ट्याउँछन् भन्ने विषय मतगणनाको बाँकी चरणले तय गर्नेछ। कांग्रेसभित्रको गुटगत शक्ति, प्रतिनिधिको मतध्रुवीकरण र अन्तिम चरणको मतले तनहुँ–१ को नेतृत्वको तस्बिर स्पष्ट पार्नेछ।




















