प्रहार समाचार । तनहुँ, १४ असोज २०८३ बुधबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ अर्न्तरगत तनहुँको दमौलीमा हिंजो भएको निर्वाचनले प्रदेश तहको नेतृत्वमा नयाँ समीकरणको संकेत गरेको छ। प्रदेशसभा क्षेत्र १(क) को सभापतिमा धिरेश खनाल र १(ख) को सभापतिमा कर्ण खत्री विजयी भएका छन्।

क्षेत्र नम्बर १ मा कुल १ हजार १३८ मतदाता रहेकामा १ हजार ६६ मत खसेको थियो, जसले अधिवेशनप्रति प्रतिनिधिहरूको उच्च सहभागिता देखाएको छ। प्रदेश नेतृत्वको टुंगो लागेसँगै अब तनहुँ–१ को क्षेत्रीय नेतृत्वको परिणामतर्फ सबैको ध्यान केन्द्रित भएको छ। उपलब्ध मतगणनाको प्रारम्भिक विवरणअनुसार क्षेत्रीय सभापतिमा आनन्दराज त्रिपाठी १ सय १३ मतसहित अग्रस्थानमा, विश्वेश्वर खनाल १ सय ६ र सूर्यचन्द्र हड्खले ६९ मतमा छन्। ३०० मत गणना हुँदा देखिएको यो प्रारम्भिक तस्वीरले क्षेत्रीय नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा अझ रोचक बनाएको छ।

सचिवमा सरोज भण्डारी १५१ मतसहित अगाडि छन् भने तारा नरेश पौडेलले १११ मत पाएका छन्। मतगणना अघि बढ्दै जाँदा प्रारम्भिक अग्रता अन्तिम परिणाममा बदलिन सक्ने भएकाले अहिलेको अंकलाई अन्तिम नतिजा मान्न मिल्दैन।तनहुँ–१ को निर्वाचनले सभापतिदेखि सदस्यसम्म व्यक्तिगत प्रभाव, समूहगत समीकरण र संगठनभित्रको शक्ति परीक्षणलाई एउटै मैदानमा ल्याएको देखिन्छ।
खुला सदस्यतर्फ नरबहादुर गुरुङ १३८, गोविन्द थापा १२१, नारायणप्रसाद ढकाल १०५ र विष्णुबहादुर थापा गोदार १०४ मतमा छन् भने दलिततर्फ सुनिता सुनार १६६ मतसहित अगाडि छिन्। आदिवासी जनजाति खुलातर्फ सन्तोष घले २७९ मतसहित अगाडि छन्। यसले तनहुँ कांग्रेसको १५औँ महाधिवेशन केवल पदाधिकारी चयनमा सीमित नभई आगामी संगठनात्मक शक्ति सन्तुलनको परीक्षणस्थल बनेको संकेत गरेको छ।




















