प्रहार समाचार । तनहुँ, १३ असोज २०८३ मङ्गलवार । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँमा संस्थापनइतर पक्षले आफ्नो संगठनात्मक सक्रियता तीव्र बनाएको छ । दमौलीमा आयोजित भेलाबाट इतर पक्षले प्राडा कृष्णप्रसाद गौतमको संयोजकत्वमा महाधिवेशन तयारी समिति घोषणा गर्दै जिल्लामा आफ्नो राजनीतिक उपस्थिति र शक्ति परिचालनलाई औपचारिक रूप दिएको हो ।

समितिको सह–संयोजकमा डम्बरबहादुर अधिकारी र कमलभक्त पोखरेल तथा सचिवमा माधव खनाल चयन भएका छन् ।गौतम नेतृत्वको समितिमा जिल्लाका विभिन्न क्षेत्र र तहमा सक्रिय कांग्रेस नेताकार्यकर्तालाई समेटिएको छ । सदस्यहरूमा भीमकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद घिमिरे, मथुराकृष्ण श्रेष्ठ, शेरजङ्ग गुरुङ, नरनाथ काफ्ले, राजु खड्का, रघुबहादुर केसी, रामदेव पन्थ, लक्ष्मण मल्ल, लेखनाथ तिवारी, इन्द्रबहादुर दरै, शोभा कोइराला, एनजे अली, पूर्णबहादुर थापा, अमित थापा, जयन्ती अधिकारी, रविन्द्र आले (रघु), रामबहादुर बयलकोटी, पञ्चबहादुर गुरुङ, क्या. रेशमबहादुर गुरुङ, मंगल गुरुङ, परशुराम ढुंगाना, उमा सुनार र राम विश्वकर्मा रहेका छन् ।
महाधिवेशनको मिति नजिकिँदै जाँदा तनहुँ कांग्रेसभित्र समूहगत राजनीतिक सक्रियता पनि तीव्र बन्दै गएको छ । तयारी समिति गठनलाई इतर पक्षले महाधिवेशनमा आफ्ना विचार, संगठन र प्रतिनिधिलाई समन्वय गर्ने प्रयासका रूपमा अघि बढाएको छ । यससँगै जिल्लामा संस्थापन र इतर पक्षबीचको प्रतिस्पर्धा अझ खुला हुँदै गएको देखिएको छ भने महाधिवेशन प्रतिनिधि छनोटदेखि नेतृत्व चयनसम्म तनहुँ कांग्रेसको आन्तरिक समीकरण निर्णायक चरणतर्फ अघि बढेको छ ।





















