प्रहार समाचार । तनहुँ, १३ असोज २०८३ मङ्गलवार । दमौली । अविरल वर्षाका कारण तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारमा ढुंगा–माटोले बनेको दुईतले कच्ची घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। स्थानीय आसपूर गुरुङको जस्तापाताले छाएको ६ कोठे घर वर्षाका कारण भत्किएपछि परिवार विस्थापित भएको हो।

घर पूर्णरूपमा क्षति भए पनि घटनामा मानवीय तथा पशुचौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार हिंजो परेको वर्षाका कारण गुरुङको घर भत्किएको हो। घर भत्किएपछि परिवारका सदस्यलाई तत्कालका लागि आफन्तको घरमा राखिएको छ। कच्ची संरचनामाथि लगातारको वर्षाले क्षति पुर्याएपछि घर बस्नै नमिल्ने अवस्थामा पुगेको जनाइएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय साराङघाट, तनहुँबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनाको विवरण संकलन गर्नुका साथै क्षतिको अवस्थाबारे आवश्यक जानकारी लिएको जनाएको छ। वर्षा अझै जारी रहन सक्ने भएकाले ग्रामीण क्षेत्रमा कच्ची तथा जोखिमयुक्त घरमा बस्दै आएका परिवारलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ।





















