समाचार

कानुनी क्षेत्रका अनुभवी वरिष्ठ अधिवक्ता वाग्ले कांग्रेस महाधिवेशनमा ‘विषय विज्ञ’तर्फ मैदानमा

प्रहार समाचार । तनहुँ, १३ असोज २०८३ मङ्गलवार । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँ क्षेत्र नं. १ बाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले विषय विज्ञतर्फ महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।

व्यास नगरपालिका–४ निवासी वाग्ले लामो समयदेखि कानुन व्यवसायसँगै प्राध्यापन क्षेत्रमा सक्रिय रहँदै आएका छन् । कानुनी क्षेत्रको अनुभव र सार्वजनिक संस्थाको व्यवस्थापनमा प्राप्त जिम्मेवारीलाई राजनीतिक संगठनसँग जोड्दै उनले कांग्रेसको मूल आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई व्यवहारमै स्थापित गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । वाग्ले हाल प्रदेश अस्पताल दमौलीको व्यवस्थापन समितिका अध्यक्षसमेत छन् । स्वास्थ्य सेवा सुधार, संस्थागत व्यवस्थापन र नागरिकले पाउने सेवाको प्रभावकारितासँग जोडिएका विषयमा उनको सार्वजनिक सक्रियता देखिँदै आएको छ ।

कानुन व्यवसाय, प्राध्यापन र संस्थागत नेतृत्वको अनुभवलाई पार्टीको नीति निर्माण तथा संगठन सुदृढीकरणमा उपयोग गर्ने उद्देश्यसहित वाग्लेले विषय विज्ञतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी अघि सारेका हुन् । कांग्रेसभित्र नीति, विधि र संस्थागत अनुशासनको बहसलाई बलियो बनाउनुपर्ने धारणा राख्दै वाग्लेको उम्मेदवारीले महाधिवेशन प्रतिनिधित्वमा व्यावसायिक तथा विषयगत विज्ञताको प्रश्नसमेत अगाडि ल्याएको छ । कानुनको अभ्यासबाट प्राप्त अनुभवलाई लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र सामाजिक न्यायसँग जोडेर पार्टीलाई समयानुकूल बनाउने उनको दाबी छ । १५औँ महाधिवेशनमा ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई केवल नारामा सीमित नराखी नीति, संगठन र व्यवहारमा रूपान्तरण गर्नुपर्ने उनको जोड छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button