आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटगण्डकी

तनहुँ–१ कांग्रेसमा त्रिपक्षीय भिडन्त : सभापतिमा त्रिपाठी, खनाल र हड्खले आमनेसामने

प्रहार समाचार । तनहुँ, १२ असोज २०८३ सोमबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमिति नेतृत्वका लागि प्रतिस्पर्धा औपचारिक रूपमा निर्णायक मोडमा पुगेको छ । निर्वाचन समितिले सोमबार साँझ उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेसँगै क्षेत्रीय सभापतिमा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी, विश्वेश्वर खनाल र नेपाली कांग्रेस व्यास नगरका निवर्तमान सभापति सूर्यचन्द्र हड्खलेबीच त्रिपक्षीय भिडन्त निश्चित भएको हो ।

तीनै जनाले नेतृत्वका लागि दाबी गरेपछि क्षेत्रीय सभापतिको प्रतिस्पर्धा तनहुँ कांग्रेसभित्रको शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ । क्षेत्रीय कार्यसमितिको एक सचिव पदमा तारा नरेश पौडेल र सरोज भण्डारीबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै, दुई सहसचिव पदका लागि कुबेर खनाल, टुकबहादुर हमाल ठकुरी, नारायणबहादुर खड्का, लक्ष्मीकान्त मिश्र र लोकराज सेढाईं प्रतिस्पर्धामा छन् । सभापति, सचिव र सहसचिव पदमा उम्मेदवारीको अन्तिम चित्र स्पष्ट भएसँगै अब कांग्रेस क्षेत्र नं. १ को नेतृत्व कसले सम्हाल्ने भन्ने विषय मतदानबाट टुंगो लाग्ने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्षेत्रीय अधिवेशनलाई मौसमलगायत स्थानीय परिस्थितिअनुसार असोज १३ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेसक्षेत्रीय नेतृत्वका लागि तीन उम्मेदवार मैदानमा उत्रिएसँगै तनहुँ–१ कांग्रेसको आन्तरिक प्रतिस्पर्धा अब मतदाताको निर्णयमा पुगेको छ । पालिका र वडा तहको नेतृत्व चयनपछि क्षेत्रीय अधिवेशनमा प्रवेश गरेको कांग्रेस तनहुँमा अब संगठनमाथिको पकड, कार्यकर्ताबीचको प्रभाव र नेतृत्वप्रतिको विश्वासको परीक्षा हुने देखिएको छ । क्षेत्रीय अधिवेशनबाट चयन हुने नेतृत्वसँगै महाधिवेशन प्रतिनिधि चयनसमेत हुने भएकाले भोलिको मतदानलाई कांग्रेसको आगामी महाधिवेशनमा तनहुँ–१ को प्रतिनिधित्व निर्धारण गर्ने महत्वपूर्ण चरणका रूपमा हेरिएको छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button