हेडलाईनव्याससमाचारगण्डकी

तनहुँ कांग्रेसमा महाधिवेशनको चटारो : चुनावको पूर्वसन्ध्यामा देउवा समूहको दमौलीमा तयारी भेला

प्रहार समाचार । तनहुँ , १२ असोज २०८३ सोमबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँमा विभिन्न तहका महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचनको पूर्वसन्ध्यामा शेरबहादुर देउवा पक्षले महाधिवेशन तयारीलाई केन्द्रित गर्दै मंगलबार तनहुँमा तयारी भेला आयोजना गरेको छ ।

राष्ट्रिय कार्यतालिकाअनुसार तनहुँमा भोलि विभिन्न तहका महाधिवेशन प्रतिनिधिको निर्वाचन हुँदैछ भने केही पदमा उम्मेदवारहरू निर्विरोध चयन भइसकेका छन्। यहीबीच शेरबहादुर देउवा पक्षले महाधिवेशन तयारीलाई केन्द्रित गर्दै मंगलबार तनहुँमा तयारी भेला आयोजना गरेको छ। व्यास–४ सिमलटारस्थित निम्तो पार्टी प्यालेसमा बिहान ११ः३० बजे हुने भनिएको भेलामा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी अतिथि रहने आयोजकले जनाएको छ।

देउवा समूह तनहुँका संयोजक प्रा.डा. कृष्णप्रसाद गौतमका अनुसार भेलामा महाधिवेशनका बाँकी तयारी, संगठनात्मक समन्वय तथा निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा घनिभूत छलफल हुनेछ। १५औँ महाधिवेशन तयारीका क्रममा केन्द्रीय प्रतिनिधिका रूपमा तनहुँमा खटिएका पूर्वमन्त्री एवं केन्द्रीय प्रतिनिधि मणिभद्र कंडेलको समेत सहभागिता रहने जनाइएको छ।

‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आदर्शका रूपमा अघि सार्दै कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढिरहँदा तनहुँमा भने प्रतिनिधि चयनको प्रतिस्पर्धासँगै विभिन्न समूहले आफ्नो संगठनात्मक उपस्थिति बलियो बनाउने कसरत तीव्र पारेका छन्। उता, देउवा समूहको तयारी भेला हुँदै गर्दा संस्थापन पक्ष पनि महाधिवेशन केन्द्रित आन्तरिक तयारीमा जुटिरहेको छ। प्रतिनिधि चयनको चरणमा पुगेको तनहुँ कांग्रेसमा केही पद निर्विरोध भए पनि बाँकी पदमा प्रतिस्पर्धा देखिएको छ।

महाधिवेशन नजिकिँदै जाँदा उम्मेदवारहरू मतदाता प्रतिनिधिसँगको सम्पर्क, समर्थन जुटाउने र आफ्नो पक्षको संगठनात्मक प्रभाव विस्तार गर्ने अभियानमा सक्रिय छन्। यसले तनहुँ कांग्रेसमा १५औँ महाधिवेशन केवल प्रतिनिधि चयनको नियमित प्रक्रिया मात्र नभई आगामी नेतृत्व समीकरण र संगठनभित्रको शक्ति परीक्षणको महत्वपूर्ण चरणका रूपमा समेत देखिएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button