प्रहार समाचार । तनहुँ, १२ असोज २०८३ सोमबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट प्रजातान्त्रिक सेनानी संघको तर्फबाट बृषराज श्रेष्ठले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।

लामो समयदेखि कांग्रेसको संगठन, उद्योग–वाणिज्य क्षेत्र तथा विभिन्न सामाजिक संस्थामा सक्रिय श्रेष्ठले आफ्नो उम्मेदवारीलाई पार्टीको पुरानो संघर्ष, अनुभव र नयाँ पुस्ताबीचको सम्बन्ध बलियो बनाउने अभियानका रूपमा अघि सारेका छन्। “राष्ट्रियता, लोकतन्त्र र समाजवाद”को आदर्शलाई व्यवहारमा उतार्दै “सुदृढ पार्टी, समृद्ध नेपाल र समावेशी विकासका लागि एकजुट बनौँ” भन्ने धारणा श्रेष्ठको उम्मेदवारीको मूल आधार रहेको छ।श्रेष्ठको राजनीतिक यात्राको जरा बाल्यकालदेखि नै कांग्रेसप्रतिको आस्थासँग जोडिएको छ। २०१५ सालको आमनिर्वाचनका बेला नौ वर्षकै उमेरमा बरको रुखको हाँगा भाँचेर चुनावी प्रतीकका रूपमा बोकेर हिँडेको स्मरण सुनाउने श्रेष्ठले त्यसयता विभिन्न संघ–संस्थामा रहेर काम गर्दै संगठनात्मक अनुभव हासिल गरेका छन्।

नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालय निर्माणका क्रममा समेत सहयोग गरेका श्रेष्ठ २०३४ सालदेखि तनहुँ उद्योग वाणिज्य संघको जिल्ला नेतृत्व हुँदै नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा रहेर काम गरेका व्यक्ति हुन्। उद्योगीसमेत रहेका श्रेष्ठ हाल नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ तनहुँका जिल्ला अध्यक्ष तथा प्रजातान्त्रिक सेनानीका रूपमा सक्रिय छन्।
कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेका बेला श्रेष्ठले आफ्नो उम्मेदवारीमार्फत विगतको संघर्ष र अनुभवलाई पार्टीको आगामी पुस्तासँग जोड्ने विषयलाई प्राथमिकतामा राखेका छन्। उनले बीपी कोइरालाले अघि सारेको समाजवादलाई नारामा सीमित नराखी व्यवहार र जनजीवनसँग जोड्नुपर्ने धारणा अघि सारेका छन्। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म हुँदैछ भने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ।





















