प्रहार समाचार । तनहुँ, १२ असोज २०८३ सोमबार । माओवादी द्वन्द्वका क्रममा परिवारले भोगेको हत्या, हिंसा र विस्थापनलाई राजनीतिक चेतनाको आधार बनाउँदै विद्या खनालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी प्रस्तुत गरेकी छन् ।

द्धन्द्वका क्रममा उनका काका कल्याण खनालको हत्या भएको तथा उनका बुवा रामभक्त खनाल र भाइ राजेश खनालमाथि निर्घात कुटपिट र गोली प्रहार भएको खनालले बताएकी छन्। ज्यान जोगाउन परिवार नै आफ्नै देशभित्र आन्तरिक शरणार्थीका रूपमा बाँच्न बाध्य भएको अनुभवलाई उनले आफ्नो राजनीतिक चेतना, संघर्ष र प्रतिबद्धताको आधारका रूपमा अघि सारेकी छन्।पारिवारिक राजनीतिक चेतना र संघर्षबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी खनालले पृथ्वीनारायण क्याम्पस पोखरा र विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट नेपाल विद्यार्थी संघको राजनीतिमार्फत आफ्नो राजनीतिक यात्रा अघि बढाएकी हुन्।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको विश्वविद्यालय क्याम्पस स्ववियुमा नेविसंघको तर्फबाट कोषाध्यक्ष तथा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरेकी खनालले त्यसपछि गण्डकी प्रदेश नेपाली कांग्रेसको आमन्त्रित सदस्यका रूपमा समेत काम गरेकी छन्। विगतका संघर्षलाई केवल व्यक्तिगत पीडाको कथाका रूपमा सीमित नराखी त्यसलाई राजनीतिक जिम्मेवारीमा रूपान्तरण गर्ने बताउँदै उनले पार्टीभित्र विधि, सोच र प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको धारणा अघि सारेकी छन्।

‘राजनीति पद प्राप्तिको माध्यम मात्र होइन, समाज र पार्टीलाई समयअनुकूल रूपान्तरण गर्ने जिम्मेवारी हो’ भन्ने धारणा अघि सार्दै खनालले तनहुँ क्षेत्र नं. १ का क्षेत्रीय प्रतिनिधिहरूसँग अमूल्य मतको अपेक्षा गरेकी छन्। ‘परिवर्तनको यात्रामा मेरो उम्मेदवारी’, ‘विधि बदलौँ, सोच बदलौँ, प्रवृत्ति बदलौँ’, ‘सशक्त संगठन, सक्षम नेतृत्व, समृद्ध नेपाली कांग्रेस’ भन्ने नारासहित अघि बढेकी खनालले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदको आकांक्षाभन्दा संगठन सुदृढीकरण र राजनीतिक रूपान्तरणसँग जोडेर प्रस्तुत गरेकी छन्। उनको उम्मेदवारीले द्वन्द्वपीडित परिवारको भोगाइबाट सुरु भएको राजनीतिक चेतना, विद्यार्थी राजनीतिमा हासिल गरेको अनुभव र कांग्रेस संगठनमा निर्वाह गरेको जिम्मेवारीलाई महाधिवेशन प्रतिनिधिको भूमिकासँग जोडेको छ।





















