प्रहार समाचार । तनहुँ, १२ असोज २०८३ सोमबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढिरहेका बेला तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले आदिवासी जनजातितर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।

लामो समयदेखि कांग्रेसको संगठन र राजनीतिमा सक्रिय श्रेष्ठले विद्यार्थी राजनीतिदेखि जिल्ला तहसम्मको जिम्मेवारी सम्हाल्दै आएको अनुभवलाई अब पार्टी संगठनमा नयाँ ढङ्गबाट उपयोग गर्ने प्रतिबद्धतासहित प्रतिनिधिमा दाबी अघि सारेका हुन्। नेपाली कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुँदैछ। श्रेष्ठको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको देखिन्छ। २०३५ सालमा नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका उनले त्यसपछि नेपाली कांग्रेस जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि तथा जिल्ला प्रवक्तालगायतका जिम्मेवारी निर्वाह गरिसकेका छन्। संगठनभित्र विभिन्न तहमा काम गरेको अनुभवलाई आधार बनाउँदै श्रेष्ठले पार्टीको नीति, संगठन र जनसम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आदिवासी जनजातितर्फबाट महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने बताएका छन्।

उनका अनुसार लामो राजनीतिक अनुभवलाई समयअनुकूल नयाँ सोच र कार्यशैलीसँग जोडेर कांग्रेसको संगठनलाई थप गतिशील बनाउने आवश्यकता छ। प्रतिनिधि चयनको प्रक्रिया तीव्र बन्दै जाँदा श्रेष्ठको उम्मेदवारीले तनहुँ क्षेत्र नं. १ को आदिवासी जनजाति प्रतिनिधित्वको विषयलाई पनि केन्द्रमा ल्याएको छ। कांग्रेसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि चयन गर्ने व्यवस्था छ भने त्यसपछि जिल्ला, प्रदेश हुँदै असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ। लामो संगठनात्मक यात्राबाट प्राप्त अनुभवलाई नयाँ पुस्ताको ऊर्जा र बदलिँदो राजनीतिक आवश्यकतासँग जोड्ने दाबी गर्दै श्रेष्ठले आफ्नो उम्मेदवारीलाई पार्टीभित्रको जिम्मेवारी र प्रतिनिधित्वको निरन्तरताका रूपमा अघि सारेका छन्।





















