हेडलाईनव्याससमाचारगण्डकी

युवराज आले मगरको उम्मेदवारी : ‘पहिचानको सम्मान, समान सहभागिता’लाई कांग्रेसभित्रै बलियो बनाउने प्रतिबद्धता

प्रहार समाचार । तनहुँ, १२ असोज २०८३ सोमबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट आदिवासी जनजातितर्फ युवराज आले मगरले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गरेका छन्।

व्यास नगरपालिका–१४ केशवटार निवासी आले मगरले लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय रहँदै आएको अनुभवलाई आधार बनाउँदै ‘पहिचानको सम्मान, समान सहभागिता’ लाई आफ्नो राजनीतिक प्रतिबद्धताको मुख्य आधार बनाएका छन्। राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई कांग्रेसको मूल राजनीतिक आदर्शका रूपमा आत्मसात् गर्दै उनले आदिवासी जनजातिको सम्मान र समावेशी प्रतिनिधित्वलाई पार्टीको संगठनात्मक अभ्यासमा अझ प्रभावकारी बनाउनुपर्ने धारणा अघि सारेका छन्।

आले मगर विगत एक दशकदेखि नेपाली कांग्रेस क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेर संगठनमा सक्रिय रहेको बताइएको छ। त्यसअघि उनले नेपाली कांग्रेस क्षेत्र नं. २ को क्षेत्रीय सदस्यका रूपमा पाँच वर्ष काम गरेका थिए। हाल उनी नेपाली कांग्रेस क्षेत्र नं. १ को क्षेत्रीय सहसचिवका रूपमा कार्यरत छन्। लामो समयको संगठनात्मक अनुभवलाई महाधिवेशन प्रतिनिधिको भूमिकामा उपयोग गर्दै पार्टीभित्र युवाको सक्रियता, जनजातिको सहभागिता र संगठनलाई जनतासँग थप जोड्ने विषयलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ।

‘आदिवासी जनजातिको सम्मान, समावेशी समाजको अभियान’ भन्ने मूल भावसहित उम्मेदवारी दिएका आले मगरले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि नेपाली कांग्रेसको अग्रसरता आवश्यक रहेको बताएका छन्। पार्टीभित्र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्दै पहिचान, अधिकार र अवसरका सवाललाई संगठनको मूलधारमा स्थापित गर्नुपर्ने उनको जोड छ। कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई व्यवहारमा रूपान्तरण गर्दै समावेशी र समान सहभागितामूलक कांग्रेस निर्माणमा आफ्नो भूमिका रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button