काठमाडौं । सीमापारि भारतको झारखण्डमा रहेका नेपालीभाषी तथा गोरखा समुदायले नेपालमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको पीडामा मल्हम लगाउने प्रयास गरेका छन्। झारखण्ड गोरखा समाजको अगुवाइमा विभिन्न संघसंस्था तथा समुदायबाट संकलित १६ लाख ८९ हजार २ सय ५० रुपैया प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुऱ्याउने उद्देश्यले संकलित रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको थियो । ज यस मानवीय अभियानमा झारखण्ड गोरखा समाज, प्रथम वाहिनी झारखण्ड सशस्त्र पुलिस, गोरखा सेवा निवृत्त संघ, भजन–कीर्तन मण्डली र गोरखा उत्कर्ष युवा संघ राँचीलगायतको सहभागिता रहेको छ। अभियानमा रामबहादुर गोदार, राजेन सिंह क्षेत्री, दिवस ओली (अर्जुन), उज्ज्वल थापा र गोविन्द पाण्डेलगायतले समन्वय तथा सहभागिता जनाएका थिए। विपद्को घडीमा देशको सीमाभन्दा बाहिर रहेका नेपाली तथा गोरखा समुदायबाट प्राप्त यो सहयोगले पीडित परिवारको राहत र पुनःस्थापनामा योगदान पुग्ने अपेक्षा गरिएको छ।

यस सहयोग अभियानको समन्वय तथा सहजीकरण तनहुँ निवासी समाजसेवी सुजन बिष्टले गरेका हुन्। झारखण्डमा रहेका विभिन्न गोरखा तथा नेपाली समुदायलाई जोड्दै बाढीपीडितका लागि सहयोग जुटाउने कार्यमा बिष्टले भूमिका खेलेका थिए। नेपालमा परेको विपद्मा झारखण्डबाट जुटेको यो सहयोगले भौगोलिक दूरीभन्दा मानवीय सम्बन्ध बलियो हुने सन्देश दिएको छ। संकटमा परेका आफ्नै देशका नागरिकप्रति सीमापारिबाट गरिएको यो सहयोगले नेपाल र झारखण्डमा रहेका गोरखा समुदायबीचको आत्मीयता र सामाजिक एकतालाई समेत थप उजागर गरेको छ।





















