आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

फलामे डण्डी प्रहारबाट तनहुँमा भारतीय नागरिकको मृत्यु, अभियुक्त पक्राउ

प्रहार समाचार । तनहुँ, ९ असोज २०८३ शुक्रबार । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ चिसापानीस्थित एक ग्यारेजमा सामान्य विवादले उग्र रूप लिँदा फलामको डण्डी प्रहारबाट एक भारतीय नागरिकको ज्यान गएको छ।

ग्यारेजमै काम गर्ने सहकर्मीले मादक पदार्थ सेवन गरी फलामको डण्डीले टाउकोमा प्रहार गरेपछि गम्भीर घाइते भएका ५० वर्षीय लालवचन शाहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भारतको मोतिहारी जिल्ला घर भई चिसापानीस्थित उक्त ग्यारेजमा काम गर्दै आएका शाहलाई सोही ग्यारेजमा कार्यरत भारतको बेतिया जिल्ला घर भएका ३२ वर्षीय जावेद आलमले फलामको डण्डीले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहारबाट गम्भीर घाइते शाहलाई तत्काल उपचारका लागि आँबुखैरेनी अस्पताल, तनहुँ लगिएको थियो।

अस्पताल पुर्‍याइएका शाहलाई चिकित्सकले राति ८ः३५ बजे मृत घोषणा गरेका थिए। घटनापछि आलम तत्कालै ग्यारेजबाट फरार भएका थिए। प्रहरीले खोजी गर्ने क्रममा उनलाई आँबुखैरेनी गाउँपालिका–३ स्थित भित्री बजारबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। पक्राउ परेका आलमलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

फलामको डण्डी प्रहार गर्नुपर्ने अवस्थासम्म घटना कसरी पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाको कारण, आपसी विवादको प्रकृति तथा घटनामा प्रयोग भएको हतियारलगायतका विषयमा थप अनुसन्धानपछि मात्रै विस्तृत तथ्य खुल्ने प्रहरीले जनाएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button