प्रहार समाचार । तनहुँ, ९ असोज २०८३ शुक्रबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट दलित महिला तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले उम्मेदवारी अघि सारेकी छन्।

उनले पार्टीभित्रको समावेशी सहभागितालाई केवल प्रतिनिधित्वमा सीमित नराखी नीति निर्माण, निर्णय प्रक्रिया र नेतृत्वको तहसम्म पुर्याउने एजेन्डासहित आफ्नो दाबी प्रस्तुत गरेकी हुन्। कांग्रेसको महाधिवेशन प्रक्रिया अहिले क्षेत्रीय अधिवेशनतर्फ अघि बढिरहेको छ। गोतामेले महिला हक–हित, समान अवसर, सामाजिक न्याय तथा दलित समुदायका सवाललाई कांग्रेसको संगठनात्मक प्राथमिकतासँग जोडिनुपर्ने धारणा राखेकी छन्। बीपी कोइरालाले अघि सारेको समाजवादको मर्म समाजको तल्लो तहसम्म व्यवहारमै कार्यान्वयन हुनुपर्ने बताउँदै उनले राजनीतिक परिवर्तनको लाभ पछाडि पारिएका वर्ग, समुदाय र महिलासम्म पुग्न नसकेसम्म समाजवादको उद्देश्य पूरा नहुने धारणा अघि सारेकी छन्।

सामाजिक विभेद, अवसरमा असमानता र पहुँचको कमीबाट प्रभावित समुदायका आवाजलाई पार्टीको नीति तथा नेतृत्वको तहमा प्रभावकारी रूपमा उठाउन आफू महाधिवेशन प्रतिनिधिको भूमिकामा आउन चाहेको उनको भनाइ छ।स्थानीय कांग्रेस संगठनसँग लामो समयदेखि जोडिएर सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी गोतामेले ‘एकता, सहकार्य र समावेशी नेतृत्व’लाई आफ्नो अभियानको आधार बनाएकी छन्। उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादका कांग्रेसका मूल आदर्शलाई व्यवहारसँग जोड्दै पुस्तान्तरण र रूपान्तरणमार्फत परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा जोड दिएकी छन्।
“पुस्तान्तरण, रूपान्तरणसहित परिवर्तनलाई संस्थागत गर्दै विजय यात्रामा तपाईहरूसँग सधैँ सँगै रहनेछु,” भन्दै उनले क्षेत्रीय प्रतिनिधिहरूसँग मत मागेकी छन्। कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा अघि सारेको छ। यही परिवेशमा तनहुँ क्षेत्र नं. १ को दलित महिला तर्फ गोतामेको उम्मेदवारीले पार्टीभित्र समावेशी प्रतिनिधित्व, महिला सहभागिता र नेतृत्वमा पहुँचको बहसलाई थप अगाडि ल्याएको छ।





















