हेडलाईनसमाचारबन्दीपुरगण्डकी

महाधिवेशन प्रतिनिधिमा डुम्रेका पियाको उम्मेदवारी, ‘कार्यकर्ताको आवाज महाधिवेशनमा पुर्‍याउने’ प्रतिबद्धता

प्रहार समाचार । तनहुँ, ९ असोज २०८३ शुक्रबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँ क्षेत्र नं. १ बाट जनजाति कोटातर्फ महाधिवेशन प्रतिनिधि पदका लागि बन्दीपुर गाउँपालिका–१, डुम्रे निवासी समाजसेवी राजेन्द्र पियाले उम्मेदवारी अघि सारेका छन्।

लामो समयदेखि कांग्रेसको संगठन निर्माण तथा सामाजिक क्षेत्रमा सक्रिय पियाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदाकांक्षाभन्दा पार्टी संगठनलाई थप सुदृढ बनाउने र स्थानीय कार्यकर्ताको आवाज केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।पिया नेपाली कांग्रेस क्षेत्रीय कोषाध्यक्ष, तनहुँ क्षेत्र नं. १ (ख) प्रदेशका निवर्तमान सभापति, लोकतान्त्रिक उद्योग वाणिज्य संघ तनहुँका सचिव, तनहुँ उद्योग वाणिज्य संघको जिल्ला संगठन विभागका सदस्यलगायत विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। सामाजिक क्षेत्रमा समेत सक्रिय उनी डुम्रे सांस्कृतिक एवं सामाजिक संरक्षण समितिका अध्यक्ष हुन्।

विभिन्न सामाजिक तथा संस्थागत भूमिकामा रहेर काम गरेका पियाले कांग्रेसको संगठनलाई जनतासँग अझ नजिक जोड्दै कार्यकर्ताको भावना र जनसरोकारलाई पार्टीको नीति निर्माण तथा निर्णय प्रक्रियासम्म पुर्‍याउने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्।

“संगठन बलियो बनाऔँ, जनताको आवाजलाई महाधिवेशनमा पुर्‍याऔँ” भन्ने मूल भावसहित अघि बढेका पियाले बीपी कोइरालाले अघि सारेको समाजवादको मर्म समाजको तल्लो तहसम्म व्यवहारमै कार्यान्वयन हुनुपर्ने धारणा राखेका छन्। राजनीतिक परिवर्तनको लाभ समाजका सबै समुदाय र वर्गसम्म पुग्न नसकेसम्म समाजवादको उद्देश्य पूरा नहुने उल्लेख गर्दै उनले कांग्रेसभित्र जनजाति तथा अन्य समुदायको अर्थपूर्ण प्रतिनिधित्व, कार्यकर्ताको सम्मान र संगठनको सुदृढीकरण आवश्यक रहेको बताएका छन्।

पहिचानको सम्मान, प्रतिनिधित्वको सुनिश्चितता, समावेशी कांग्रेस र समृद्ध नेपाल आफ्नो अभियानको आधार भएको उनको भनाइ छ।कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ। केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय भएको छ। जनजाति कोटाबाट उम्मेदवारी अघि सारेका पियाले महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए कांग्रेसको नीति, विचार, आदर्श र संगठनलाई समयअनुकूल थप बलियो बनाउँदै स्थानीय तहका कार्यकर्ता र जनताको आवाजलाई पार्टीको केन्द्रीय मञ्चसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button