हेडलाईनसमाचारभानुगण्डकी

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिको लागि भानु ४ का श्रेष्ठको उम्मेदवारी घोषणा

प्रहार समाचार । तनहुँ, ९ असोज २०८३ शुक्रबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँ निर्वाचन क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। यसैक्रममा भानु नगरपालिका–४ निवासी समाजसेवी तथा नेपाली कांग्रेस भानु नगरका निवर्तमान सभापति रामकुमार श्रेष्ठले खुला तर्फबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ भने केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुँदैछ। श्रेष्ठ भानु जन्मस्थल विकास समितिका पूर्व अध्यक्ष समेत हुन्। संगठन निर्माण र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका श्रेष्ठले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदाकांक्षाभन्दा पार्टी संगठनलाई थप सुदृढ बनाउने र महाधिवेशनमा स्थानीय कार्यकर्ताको आवाज प्रभावकारी रूपमा पुर्‍याउने प्रयासका रूपमा अघि सारेका छन्। उनले कांग्रेसको नीति, विचार, आदर्श र संगठनलाई समयअनुकूल थप बलियो बनाउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

“संगठन बलियो बनाऔँ, जनताको आवाजलाई महाधिवेशनमा पुर्‍याऔँ” भन्ने मूल भावसहित अघि बढेका श्रेष्ठले बीपी कोइरालाले अघि सारेको समाजवादको मर्म समाजको तल्लो तहसम्म व्यवहारमै कार्यान्वयन हुनुपर्ने धारणा राखेका छन्। राजनीतिक परिवर्तनको लाभ समाजका सबै समुदाय र वर्गसम्म पुग्न नसकेसम्म समाजवादको उद्देश्य पूरा नहुने उनको भनाइ छ। कांग्रेसभित्र जनताको सरोकार र कार्यकर्ताको भूमिकालाई अर्थपूर्ण बनाउने विषयलाई समेत उनले आफ्नो राजनीतिक प्राथमिकतामा राखेका छन्।

तनहुँ क्षेत्र नं. १ का क्षेत्रीय प्रतिनिधिहरूसँग मत माग्दै श्रेष्ठले आफूलाई अत्यधिक मतका साथ विजयी गराउन आग्रह गरेका छन्। पछिल्लो समय कांग्रेसको महाधिवेशन प्रक्रिया वडा हुँदै पालिका तहसम्म अघि बढिरहेको अवस्थामा क्षेत्र नं. १ मा खुला तर्फका आकांक्षीहरूबीचको प्रतिस्पर्धाले थप राजनीतिक चासो बढाएको छ। कांग्रेसले यस महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button