प्रहार समाचार । तनहुँ, ९ असोज २०८३ शुक्रबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट दलित महिला तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा चन्द्रमाया परियारले उम्मेदवारी घोषणा गरेकी छन्। पार्टीभित्र समावेशी सहभागितालाई केवल प्रतिनिधित्वमा सीमित नराखी नीति, निर्णय र नेतृत्वको तहसम्म पुर्याउनुपर्ने मुद्दासहित उनले आफ्नो दाबी अघि सारेकी हुन्।

व्यास नगरपालिका–१ निवासी परियारले महिला हक–हित, समान अवसर, सामाजिक न्याय र दलित समुदायका सवाललाई कांग्रेसको संगठनात्मक प्राथमिकतासँग जोड्नुपर्ने धारणा राखेकी छन्। बीपी कोइरालाले अघि सारेको समाजवादको मर्म समाजको तल्लो तहसम्म व्यवहारमै कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ। उनले राजनीतिक परिवर्तनको लाभ पछाडि पारिएका वर्ग, समुदाय र महिलासम्म पुग्न नसकेसम्म समाजवादको उद्देश्य पूरा नहुने धारणा अघि सारेकी छन्। परियारले कांग्रेसभित्र महिलाको सहभागिता संख्या बढाउने मात्र नभई निर्णय प्रक्रियामा अर्थपूर्ण भूमिका स्थापित गर्ने विषयलाई आफ्नो राजनीतिक प्राथमिकतामा राखेकी छन्।

सामाजिक विभेद, अवसरमा असमानता र पहुँचको कमीले प्रभावित समुदायका मुद्दालाई पार्टीको नीति निर्माण र नेतृत्वको तहमा प्रभावकारी रूपमा उठाउन आफू महाधिवेशन प्रतिनिधिको भूमिकामा आउन चाहेको उनको भनाइ छ। बीपी कोइरालाले देखाएको राजनीतिक मार्ग र कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई व्यवहारसँग जोड्नुपर्नेमा उनले जोड दिएकी छन्। नेपाली कांग्रेसलामो समयदेखि स्थानीय कांग्रेस संगठनसँग जोडिएर सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी परियार व्यास नगर कार्यपालिका सदस्यसमेत हुन्।
स्थानीय तहमा रहेर समुदायसँग प्रत्यक्ष जोडिएका गतिविधिमा संलग्न रहँदै आएकी उनले अब पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा दलित महिला, महिला तथा सामाजिक न्यायका सवाललाई थप सशक्त ढंगले उठाउने उद्देश्यसहित उम्मेदवारी प्रस्तुत गरेकी हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने कार्यतालिका कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ। कार्यतालिकाअनुसार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज ३ गते र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय गरिएको छ।





















