हेडलाईनसमाचारबन्दीपुरगण्डकी

कांग्रेस महाधिवेशन प्रतिनिधिमा बन्दीपुरका अनुभवी नेता अधिकारीको उम्मेदवारी

प्रहार समाचार । तनहुँ, ९ असोज २०८३ शुक्रबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँ क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधिका लागि बन्दीपुर १ का अनुभवि केशव अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्। पार्टीभित्रको लामो राजनीतिक सक्रियता र संगठनात्मक अनुभवलाई आधार बनाउँदै अधिकारीले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा अघि सारेका हुन्।

उनले ‘राष्ट्र, लोकतन्त्र, समाजवाद’को मूल आदर्शलाई व्यवहारमै स्थापित गर्दै पार्टी र कार्यकर्ताबीचको सम्बन्ध थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। तनहुँ कांग्रेसमा लामो समयदेखि सक्रिय अधिकारी बन्दीपुर गाउँपालिका–१, डुम्रे बजारका स्थायी बासिन्दा हुन्। उनी नेपाली कांग्रेसको विचार, नीति, सिद्धान्त र आदर्शलाई केवल नारामा सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्ने धारणा राख्छन्। विशेषगरी बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवादको राजनीतिक दृष्टिकोणलाई संगठनको व्यवहार र कार्यकर्ताको जीवनसँग जोड्नुपर्नेमा उनको जोड छ। महाधिवेशन प्रतिनिधिको भूमिकालाई केवल अधिवेशनमा मतदान गर्ने प्रतिनिधिका रूपमा नभई पार्टीको नीति, संगठन र कार्यकर्ताबीच समन्वय गर्ने जिम्मेवारीका रूपमा लिनुपर्ने अधिकारीको भनाइ छ। संगठनमा लामो समयदेखि सक्रिय रहेका अनुभवी नेता तथा कार्यकर्ताको योगदानलाई संस्थागत गर्दै नयाँ पुस्तासँग जोड्ने, पार्टीको विचारलाई तल्लो तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने र कार्यकर्ताको आवाज नेतृत्वसम्म पुर्‍याउने विषयलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन्।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यक्रम असोज ३ गतेका लागि तोकिएको थियो। तर पछिल्लो संशोधित सूचनाअनुसार मौसमको अवस्थालाई हेरी क्षेत्रीय अधिवेशन अनुकूल समयमा सम्पन्न गर्न सकिने व्यवस्था गरिएको छ। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म हुने कांग्रेसले जनाएको छ। नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय प्रतिनिधिहरूसँग मत माग्दै अधिकारीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा संगठन सुदृढीकरणसँग जोडिएको पहलका रूपमा प्रस्तुत गरेका छन्। उनले आफूलाई अत्यधिक मतका साथ विजयी गराउन क्षेत्रीय प्रतिनिधिहरूलाई आग्रह गर्दै कांग्रेसको नीति, विचार, आदर्श र संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button