प्रहार समाचार । तनहुँ, ९ असोज २०८३ शुक्रबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्रीय अधिवेशनमा व्यास नगरपालिका–११ निवासी लोकराज सेढाईले सहसचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

पार्टीको संगठनात्मक जिम्मेवारीसँगै शिक्षक तथा श्रमिक संगठनमा काम गरेको अनुभवलाई आधार बनाउँदै सेढाईले प्रदेशसभा क्षेत्रको संगठनलाई थप व्यवस्थित, सक्रिय र सदस्यकेन्द्रित बनाउने एजेन्डासहित आफ्नो दाबी अघि सारेका हुन्। सेढाईले नेपाल ट्रेड युनियन कांग्रेस तनहुँको कार्यवाहक अध्यक्ष, नेपाल शिक्षक संघ तनहुँको जिल्ला सहसचिव, नेपाल शिक्षक महासंघ तनहुँको सहसचिव तथा नेपाल शिक्षक संघ र नेपाल ट्रेड युनियन कांग्रेस तनहुँको संघीय प्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। विभिन्न तहका संगठनमा रहेर काम गरेको अनुभवलाई उनले अब पार्टीको क्षेत्रीय संगठनमा उपयोग गर्ने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म हुँदैछ। महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढिरहेको अवस्थामा सेढाईको उम्मेदवारीलाई संगठनभित्रको अनुभव बोकेका प्रतिनिधिलाई क्षेत्रीय नेतृत्वमा ल्याउने प्रयासका रूपमा हेरिएको छ। विशेषगरी शिक्षक, श्रमिक तथा पेशागत क्षेत्रसँग जोडिएको अनुभवलाई पार्टी संगठनसँग जोड्दै उनले कांग्रेसको विचार, संगठन र कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयलाई प्राथमिकतामा राखेका छन्।

कांग्रेसको मूल आदर्श ‘राष्ट्र, लोकतन्त्र, समाजवाद’लाई राजनीतिक आधार बनाउँदै सेढाईले सहसचिव पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्। निर्वाचन समितिको कार्यतालिकाअनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ भने वर्षाका कारण प्रतिकूल अवस्था भएका क्षेत्रमा क्षेत्रीय अधिवेशन असोज १३ गतेभित्र सम्पन्न गर्न सकिने व्यवस्था गरिएको छ। यही निर्वाचन प्रक्रियाबीच सेढाईले आफूले विगतमा सम्हालेका संगठनात्मक जिम्मेवारी र कार्यानुभवलाई मतदातासमक्ष प्रस्तुत गर्दै सहसचिवका लागि समर्थन मागेका छन्।





















