प्रहार समाचार । तनहुँ, ९ असोज २०८३ शुक्रबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं. १ मा जनजाति क्लस्टरतर्फबाट बन्दीपुरका बैशबहादुर गुरुङले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सदस्यसमेत रहेका गुरुङले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको विषयभन्दा जनजाति समुदायको राजनीतिक प्रतिनिधित्व बलियो बनाउने र पार्टीको निर्णय प्रक्रियामा समावेशी सहभागिता बढाउने अभियानका रूपमा अघि सारेका छन्। ‘जनजातिको गौरव, समावेशी कांग्रेस’ र ‘जनताको साथ, सबैको कांग्रेस–राष्ट्रियता, लोकतन्त्र, समाजवाद’ भन्ने नारासहित उनले पार्टीभित्र जनजाति समुदायको भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। गुरुङले लामो समयदेखि कांग्रेसको संगठनसँगै सामाजिक, पर्यटन तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएको बताइएको छ।
तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाइ, होटल एसोसिएसन तनहुँ, बन्दीपुर पर्यटन विकास समिति लगायतका संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका गुरुङले बन्दीपुरको पर्यटन प्रवर्द्धन तथा स्थानीय व्यवसायिक गतिविधिमा समेत सक्रिय भूमिका खेलेका छन्। बन्दीपुर भ्रमण वर्ष २०२५ तथा तनहुँ डुम्रे लायन्स वर्ष २०२२/२३ र २०२३/२४ मा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभवलाई उनले अब पार्टी संगठनमा उपयोग गर्ने बताएका छन्। महाधिवेशन प्रतिनिधिको जिम्मेवारी पाए जनजाति समुदायको आवाजलाई कांग्रेसको नीति तथा निर्णय प्रक्रियासम्म प्रभावकारी रूपमा पुर्याउने गुरुङको दाबी छ। सबल संगठन, एकताबद्ध नेतृत्व, सुशासन, लोकतन्त्रको सुदृढीकरण तथा समाजवादको आधार निर्माणलाई प्राथमिकतामा राख्दै बीपी कोइरालाले देखाएको राष्ट्रियता, लोकतन्त्र र समाजवादको बाटोमा पार्टीलाई अघि बढाउन भूमिका खेल्ने उनले बताएका छन्।

सामाजिक तथा संस्थागत क्षेत्रमा हासिल गरेको नेतृत्व अनुभवलाई राजनीतिक संगठनसँग जोडेर कांग्रेसलाई थप समावेशी र जनमुखी बनाउने उनको प्रतिबद्धता छ।कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढेसँगै तनहुँ क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधिका आकांक्षीहरूबीच राजनीतिक सक्रियता बढिरहेको छ। यही प्रतिस्पर्धाबीच गुरुङले जनजाति समुदायको प्रतिनिधित्व, संगठनमा योगदान र संस्थागत नेतृत्वको अनुभवलाई आफ्नो उम्मेदवारीको आधार बनाएका छन्। बन्दीपुरको पर्यटन, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहँदै बनाएको संस्थागत पहिचानलाई पार्टीको राजनीतिक भूमिकासँग जोड्दै उनले महाधिवेशन प्रतिनिधिमार्फत कांग्रेसभित्र आफ्नो भूमिका थप फराकिलो बनाउने लक्ष्य अघि सारेका छन्।





















