प्रहार समाचार । काठमाडौं, ८ असोज २०८३ बिहीबार । बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली भारतको विशाखापट्टनम आसपासबाट जमिनमा प्रवेश गरेसँगै त्यसको प्रभाव नेपालमा देखिन थालेको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेबिट ढकालका अनुसार प्रणाली हाल ‘डिप डिप्रेसन’कै अवस्थामा भारतीय भूभागमा प्रवेश गरेको र अब क्रमशः कमजोर हुँदै जाने देखिएको छ।पछिल्लो १२ घण्टामा लुम्बिनी, कोशी र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कपिलवस्तुको भगवानपुरमा १ सय २३ मिलिमिटर, पाल्पाको बल्ड्याङगढीमा १ सय ३१ मिलिमिटर, कपिलवस्तुको मैनारमा १ सय १७.८ मिलिमिटर र अर्घाखाँचीको सिमलपानीमा ९१.४ मिलिमिटर वर्षा मापन भएको छ।
तनहुँ, कास्की, सिन्धुपाल्चोक, खोटाङ र संखुवासभामा समेत भारी वर्षा भएको जनाइएको छ।मौसमविद् ढकालका अनुसार आज कोशीदेखि लुम्बिनीसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ भने भोलि यसको प्रभाव कर्णालीसम्म विस्तार हुन सक्छ। त्यसपछिका दिनमा भने लुम्बिनी र कर्णाली आसपास वर्षा बढी केन्द्रित हुने सम्भावना रहेको छ। केही मौसम मोडलले अत्यधिक वर्षाको संकेत देखाए पनि अहिलेको अवस्थाअनुसार चरम प्रकृतिको वर्षाको सम्भावना नरहेको उनको भनाइ छ।
यद्यपि मनसुनी वर्षाले जमिन पहिल्यै भिजेको अवस्थामा रहेकाले थप वर्षाले पहिरो, बाढी र डुबानको जोखिम बढाउन सक्ने मौसमविद्ले चेतावनी दिएका छन्। विशेषगरी कमजोर भूभाग, सहरी क्षेत्र तथा तराईमा सतर्कता अपनाउन आग्रह गरिएको छ। काठमाडौं उपत्यकामा पनि आज मध्यम वर्षाको सम्भावना रहेको र एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।





















