हेडलाईनसमाचारगण्डकी

लमजुङ कांग्रेसमा ६ पालिकाको नेतृत्व निर्विरोध, राइनास र मध्यनेपालमा चुनावको सम्भावना

• विजय अधिकारी (संवाददाता) लमजुङ, ७ असोज २०८३ बुधबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लमजुङका आठ स्थानीय तहमा नेतृत्व चयनको प्रक्रिया अघि बढ्दा छ पालिकामा सभापतिसहितको नेतृत्व निर्विरोध निर्वाचित भएको छ। दुई नगरपालिकामा भने सहमति जुट्न नसकेपछि निर्वाचन हुने संकेत देखिएको छ।

निर्विरोध निर्वाचित हुने पालिका सभापतिहरूमा बेँसीसहर नगरपालिकामा पूर्णबहादुर थापा, सुन्दरबजार नगरपालिकामा उत्तम गुरुङ, मर्स्याङ्दी गाउँपालिकामा लोकनाथ घिमिरे, दोर्दी गाउँपालिकामा लालबहादुर गुरुङ, दूधपोखरी गाउँपालिकामा कमलप्रसाद धिताल र क्व्होलासोथार गाउँपालिकामा राजु गुरुङ रहेका छन्।

कांग्रेसको पालिका तहको नेतृत्व चयनमा अधिकांश स्थानमा सहमति कायम भए पनि राइनास नगरपालिका र मध्यनेपाल नगरपालिकामा भने नेतृत्वका आकांक्षीबीच सहमति जुट्न नसकेको बताइएको छ। यी दुई पालिकामा बिहीबार निर्वाचन हुने सम्भावना रहेको कांग्रेस नेताहरूले बताएका छन्।

आठ पालिकामध्ये छ वटामा निर्विरोध नेतृत्व चयन भएसँगै लमजुङ कांग्रेसको पालिका अधिवेशनमा सहमतिको अभ्यास बलियो देखिएको छ। बाँकी दुई पालिकामा भने निर्वाचनबाट नेतृत्व चयन हुने अवस्था बनेको छ। निर्वाचन भएमा राइनास र मध्यनेपालमा सभापतिका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारको पक्षमा प्रतिनिधिहरूको मत निर्णायक बन्नेछ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button