प्रहार समाचार । काठमाडौं, ५ । रसुवा बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका हुन् ।

बाढीपछि १४ सदस्यीय प्राविधिक टोलीले ड्रोनसहितका माध्यमबाट १५ दिनमै द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदन तयार गरेको थियो ।प्राधिकरणका अनुसार सडक, पुल, कृषि, वन, मत्स्य, पशुपन्छी, विद्यालय र खानेपानीलगायत क्षेत्रमा ठूलो क्षति पुगेको छ । तत्काल राहतस्वरूप प्रधानमन्त्री विपद् कोषबाट प्रभावित स्थानीय तहमा १३ करोड ५० लाख रुपैयाँ पठाइएको थियो । गल्छी–देवीघाट–ढुंगे–त्रिशूली सडक सञ्चालनमा आइसकेको छ भने विदुर–बेत्रावती खण्डको १० किलोमिटरमध्ये ९.२ किलोमिटर खुलाइएको छ ।

देवीघाट, इन्द्रेणीचौर र स्याफ्रुबेँसीमा तुइन निर्माण गरिएको तथा असोजभित्र २० वटा झोलुंगे पुल मर्मत गर्ने लक्ष्य राखिएको छ ।बाढी प्रभावित नुवाकोट, रसुवा, धादिङ र चितवनका २ हजार २७ परिवारलाई अस्थायी आवास आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । सर्वेक्षणमा ८०.६ प्रतिशत परिवार सरकारी सहयोगमा अस्थायी आवासमा बस्न इच्छुक देखिएका छन् भने २५.३ प्रतिशत परिवारसँग मात्रै अस्थायी संरचना निर्माणका लागि आफ्नै जग्गा रहेको पाइएको छ । प्रभावित क्षेत्रमा ३५ वटा अस्थायी सिकाइ केन्द्र तथा कक्षाकोठा स्थापना भइसकेका छन् ।




















