हेडलाईनव्याससमाचारगण्डकी

ग्यास अभावविरुद्ध अनशनमा ऐक्यबद्धता, सरकारलाई तत्काल आपूर्ति सहज बनाउन दबाब

प्रहार समाचार । तनहुँ, २६ साउन २०८३ मङ्गलवार । देशभर खाना पकाउने ग्यासको आपूर्ति असहज बनेर सर्वसाधारणले खाना पकाउनसमेत समस्या भोग्नुपरेको भन्दै तनहुँमा जारी अनशनप्रति विभिन्न संघ–संस्थाले ऐक्यबद्धता जनाएका छन्। व्यास नगरपालिका–३ निवासी माधवप्रसाद अधिकारीले हिंजोदेखि व्यास–३ स्थित अनशन चोकमा ग्यास आपूर्तिमा देखिएको असहजता अन्त्य गर्न माग गर्दै अनशन थालेका हुन्।

अनशनरत अधिकारीका मागप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न संघ–संस्थाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय तनहुँमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षणपत्र पठाएका छन्।ध्यानाकर्षणपत्रमा ग्यास आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी आम नागरिकलाई सहज रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउन सरकारसँग माग गरिएको छ। ग्यासको अभावका कारण नागरिक भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको भन्दै अनशनरत अधिकारीले उठाएका मागप्रति सरकारको तत्काल ध्यानाकर्षण हुनुपर्ने उनीहरूको भनाइ छ।

साथै, अनशनरत अधिकारीको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्नसमेत जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारसँग अपिल गरिएको छ।ध्यानाकर्षणपत्रमा सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत् लगायतका क्षेत्रमा विभिन्न नाममा अतिरिक्त कर लगाएर जनताको जनजीविकामाथि थप भार थोपरेको आरोपसमेत लगाइएको छ। लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, २०७२ ले प्रत्याभूत गरेका मौलिक हकमाथि गैरसंवैधानिक हस्तक्षेप भएको दाबी गर्दै ग्यास तथा रासायनिक मलको सहज आपूर्ति, कालोबजारी नियन्त्रण र बढ्दो महँगी न्यूनीकरणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरिएको छ।

ध्यानाकर्षणपत्रमा एकदेव आले स्मृति प्रतिष्ठान दमौलीकी उपाध्यक्ष सृजना सिग्देल, गैरसरकारी संस्था महासंघ तनहुँकी अध्यक्ष सरलादेवी श्रेष्ठ, मानव अधिकार एलायन्स तनहुँका अध्यक्ष कविराज श्रेष्ठ, राष्ट्रिय उपभोक्ता संरक्षण मञ्च तनहुँका सचिव पूर्ण वि.क., तनहुँ उद्योग वाणिज्य संघका महासचिव सुरेश पुरी, नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष उज्वल पौडेल र अध्यक्ष डिपी अधिकारीले ऐक्यबद्धता जनाएका छन्। उनीहरूले ग्यास आपूर्ति, रासायनिक मल, कालोबजारी र महँगीजस्ता जनजीविकासँग प्रत्यक्ष जोडिएका समस्यामा सरकार गम्भीर बन्नुपर्ने भन्दै तत्काल समाधान खोज्न दबाब दिएका छन्।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button