हेडलाईनसमाचारबन्दीपुरगण्डकीमनोरञ्जन

तनहुँको बन्दिपुरमा छैठौं हिले महोत्सव तथा २३औं राष्ट्रिय धान दिवस मनाइने

प्रहार समाचार । तनहुँ, १३ असार २०८३ शनिबार । तनहुँको बन्दिपुर गाउँपालिका–३, धनटार लामाचौरमा भोली असार १४ गते २३औं राष्ट्रिय धान दिवसको अवसरमा छैठौं हिले महोत्सव–२०८३ आयोजना गरिने भएको छ। “कृषि विकासको मूल आधार प्रोत्साहन गर्ने हाम्रो चाहना, लोककला, संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने हाम्रो भावना” भन्ने मूल नारासहित महोत्सव आयोजना गर्न लागिएको हो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति तनहुँको आयोजनामा तथा बन्दिपुर गाउँपालिकाको प्रवर्द्धनमा हुने महोत्सवमा तान डोरी प्रतियोगिता (महिला तथा पुरुष), छिटो धान रोप्ने प्रतियोगिता (महिला), हिले दौड प्रतियोगिता (महिला तथा पुरुष) तथा हिलोमा माछा छोप्ने प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ। साथै महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ।

प्रतियोगिताअन्तर्गत तान डोरी र हिले दौडमा महिला तथा पुरुषतर्फ प्रथम हुनेलाई ५ हजार ५ सय रुपैयाँ तथा द्वितीय हुनेलाई ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। छिटो धान रोप्ने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १ हजार ५ सय, १ हजार, ७ सय र ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

यस्तै हिलोमा माछा छोप्ने प्रतियोगितामा सहभागीले आफूले समातेको माछा आफैं लैजान पाउने व्यवस्था गरिएको छ। कृषि, लोकसंस्कृति र ग्रामीण पर्यटनलाई एकैसाथ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा स्थानीयवासी तथा आन्तरिक पर्यटकको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button