प्रहार समाचार । तनहुँ, १३ असार २०८३ शनिबार । तनहुँको व्यास नगरपालिका–१, विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ। भवनको आज विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गरेका हुन्। त्यस अवसरमा बोल्दै प्रा. डा. अधिकारीले गुणस्तरीय उच्च शिक्षाका लागि भौतिक पूर्वाधारसँगै शैक्षिक उत्कृष्टतालाई पनि समान रूपमा प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अनुसन्धानमुखी र प्रतिस्पर्धी शिक्षा प्रणालीको विकासमा जोड दिए। कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन प्रा. डा. डिल्लीराज शर्माले समयानुकूल, व्यावहारिक र रोजगारमुखी शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले आदिकवि भानुभक्त क्याम्पस जिल्लाकै गौरवको शैक्षिक संस्था भएको उल्लेख गर्दै यसको भौतिक तथा शैक्षिक विकासमा नगरपालिकाले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा व्यास १ का वडा अध्यक्ष रमेशचन्द्र हड्खले , क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सोनार, निवर्तमान अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष देवकुमार श्रेष्ठ तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति अनुप आले मगरले पनि क्याम्पसको समग्र विकास, गुणस्तरीय शिक्षा र सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

निर्माण समितिका संयोजक सहवीर उचाइ ठकुरीका अनुसार विश्वविद्यालय अनुदान आयोगको १ करोड ४६ लाख रुपैयाँ अनुदान तथा क्याम्पसको आन्तरिक स्रोत परिचालन गरी कुल २ करोड १३ लाख ७४ हजार ९ सय ३७ रुपैयाँको लागतमा भुइँतलासहित ६ कोठे प्रशासनिक भवन निर्माण सम्पन्न गरिएको हो । कार्यक्रमको सहजिकरण सहायक क्याम्पस प्रमुख प्रा. डा. रामकुमार अधिकारीले गरेका थिए।






















