प्रहार समाचार । तनहुँ, ९ असार २०८३ मंगलबार । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउसस्थित पृथ्वी राजमार्गमा आज साँझ तेल बोक्ने ट्याङ्कर र मालवाहक ट्रक एकआपसमा ठोक्किँदा दुई चालक घाइते भएका छन् भने राजमार्ग दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। दुर्घटना साँझ करिब ६:१५ बजे भएको हो।

मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ क २७०० नम्बरको तेल ट्याङ्कर र विपरीत दिशातर्फ जाँदै गरेको ना.५ ख.७७७५ नम्बरको मालवाहक डिब्बा ट्रक एकआपसमा ठोक्किएपछि सडकमा सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि दुवै सवारी साधन घटनास्थलमै रहेका छन्। दुर्घटनामा ट्याङ्कर चालक लमजुङको सुन्दरबजार नगरपालिका–९ निवासी ४३ वर्षीय हरीबहादुर घर्तीको दाहिने खुट्टामा भित्री चोट लागेको छ भने ट्रक चालक धादिङको नौबिसे नगरपालिका–८ निवासी ३९ वर्षीय गौतम श्रेष्ठको दाहिने हातमा चोट लागेको छ।




दुवै घाइतेको अवस्था सामान्य रहेको र उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरी निरीक्षक प्रदीप सुबेदीको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको थियो । अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन प्रहरी, ट्राफिक र सम्बन्धित निकायले सवारी साधन हटाउने तथा सडक खुलाउने प्रयास तीव्र रूपमा अघि बढाइरहेका छन्।




















