हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकाको बजेट १ अर्ब ५० करोडभन्दा बढी : ३ सय १३ बुँदे नीति तथा कार्यक्रम पारित

प्रहार समाचार । तनहुँ, १० असार २०८३ बुधबार । तनहुँको व्यास नगरपालिका नगरसभाको ४५औँ अधिवेशन नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै विभिन्न विधेयकहरू सभामा पेश गरेको छ।नगर प्रमुख वैकुण्ठ न्यौपानेले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमको उपलब्धिको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३ सय १३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

 

प्रस्तुत नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यहरू गौकुमारी न्यौपाने, रन सिंह नेपाली, यज्ञ शर्मा, जीवनकुमार गुरुङ र राधा विक लगायतले विभिन्न सुझाव राखेका थिए। सदस्यहरूले दिएका सुझावहरू समेट्ने गरी नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्ने निर्णय गरिएको नगरसभाले जनाएको छ।त्यसैगरी नगर उपप्रमुख इन्दिरा दरैले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल १ अर्ब ५० करोड २० लाख १ हजार रुपैयाँ बराबरको राजस्व तथा व्ययको अनुमान पेश गरिन्। प्रस्तुत बजेटमध्ये चालुतर्फ १ अर्ब २ करोड ३७ लाख ६२ हजार रुपैयाँ अर्थात् ६८.१६ प्रतिशत र पुँजीगततर्फ ४७ करोड ८२ लाख ३९ हजार रुपैयाँ अर्थात् ३१.८४ प्रतिशत विनियोजन गरिएको छ।

उपप्रमुख दरैले नगर आर्थिक विधेयक–२०८३ र विनियोजन विधेयक–२०८३ समेत स्वीकृतिका लागि सभामा पेश गरेकी थिइन्।

यस्तै, विधायन समितिका संयोजक रमेशचन्द्र हड्खले व्यास नगर ऊर्जा विकास विधेयक–२०८३ स्वीकृतिका लागि नगरसभामा प्रस्तुत गरेका थिए।नगरसभामा पेश भएका बजेट तथा कार्यक्रम, विभिन्न विधेयक, समितिका प्रतिवेदन र समसामयिक प्रस्तावहरूमाथि विस्तृत छलफल गर्न आगामी असार २७ गते शनिबार बिहान ११ बजे पुनः बैठक बस्ने निर्णय गरिएको छ।व्यास नगरपालिकाका नगर प्रवक्ता सुरेश थापाका अनुसार नगर प्रमुख न्यौपानेले आजको बैठक स्थगित गर्दै आगामी बैठकको मिति र समय घोषणा गरेका थिए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button