हेडलाईनसमाचारगण्डकी

लमजुङ जिल्ला ट्राफिक प्रमुख खत्री सर्वोत्कृष्ट ट्राफिक प्रहरी घोषित

• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ , ९ असार २०८३ मंगलबार । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक गौतमबहादुर खत्री २०८३ साल जेठ महिनाको “सर्वोत्कृष्ट ट्राफिक प्रहरी” घोषित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीले उनको कार्यसम्पादनको मूल्याङ्कन गर्दै “बेस्ट ट्राफिक पुलिस अफ द मन्थ” घोषणा गरी सम्मान गरेको हो।

 

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले लमजुङमा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा अभिवृद्धि तथा दुर्घटना न्यूनीकरणमा खत्रीले खेलेको सक्रिय भूमिकाको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरेका हुन्। पछिल्लो समय जिल्लामा ट्राफिक अनुशासन कायम गर्न उनले प्रभावकारी अभियान सञ्चालन गर्दै आएका छन्।खत्रीको नेतृत्वमा ग्रामीण क्षेत्रमा सञ्चालन हुने ६९ वटा यात्रुवाहक बोलेरो जिपबाट अनावश्यक रूपमा जडान गरिएका हुटर तथा छत हटाउने अभियान सञ्चालन गरिएको थियो। साथै दुर्घटनाको उच्च जोखिम रहेका ब्ल्याक स्पट क्षेत्रमा फ्लोरेसेन्ट स्टिकरसहितका होर्डिङ बोर्ड जडान गरी सडक सुरक्षा सुदृढ पार्ने काम गरिएको थियो। ट्राफिक नियम उल्लङ्घन गर्ने ८ जना चालकको सवारी चालक अनुमति पत्र निलम्बन प्रक्रियासमेत अघि बढाइएको कार्यालयले जनाएको छ।

ट्राफिक कार्यालयका अनुसार खत्रीले पार्किङ व्यवस्थापनलाई व्यवस्थित बनाउने, ट्राफिक ऐनको प्रभावकारी कार्यान्वयन गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन प्रणालीलाई अघि बढाउने कार्यमा उल्लेखनीय योगदान दिएका छन्। उनको सक्रियता र नतिजामुखी कार्यशैलीकै कारण उनी जेठ महिनाको सर्वोत्कृष्ट ट्राफिक प्रहरीका रूपमा छनोट भएका हुन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button