प्रहार समाचार । तनहुँ, ९ असार २०८३ मंगलबार । वैदेशिक रोजगारीका नाममा हुने ठगी, मृत्यु, दुर्घटना, उद्धार तथा विभिन्न समस्यामा परेका श्रमिक र तिनका परिवारलाई राहत तथा न्याय दिलाउने उद्देश्यले व्यास नगरपालिकामार्फत सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। आर्थिक वर्ष २०७६/०७७ देखि २०८२/०८३ सम्मको अवधिमा जिल्ला प्रशासन कार्यालय तनहुँस्थित आप्रवासी स्रोत केन्द्रबाट ४३ हजार १२५ जनाले सेवा लिएका छन्।

सेवा लिनेमा १४ हजार ७ सय ३३ महिला, २८ हजार ३ सय ९१ पुरुष र एक जना अन्य रहेका छन्। आज व्यास नगरपालिकाले सञ्चारकर्मीसँग आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको विवरणअनुसार सो अवधिमा ३६ हजार ५ सय ४२ जना सम्भावित श्रमिक, १ हजार ३५८ जना वैदेशिक रोजगारबाट फर्किएका श्रमिक, ९ सय ५६ जना समस्या सहजीकरणका सेवाग्राही तथा ४ हजार २ सय ६९ जना अन्य प्रयोजनका सेवाग्राहीले सेवा प्राप्त गरेका छन्।

कार्यक्रम नेपाल सरकार, गण्डकी प्रदेश सरकार, स्थानीय तह र हेल्भेटास नेपालको सहकार्यमा सञ्चालन हुँदै आएको छ। सामी कार्यक्रममार्फत वैदेशिक रोजगारीसँग सम्बन्धित ९ सय ५६ वटा विभिन्न प्रकृतिका मुद्दामा सहजीकरण गरिएको छ। तीमध्ये ३ सय ९५ वटा ठगी, १ सय २८ वटा मृत्यु, १ सय ४९ वटा दुर्घटना तथा स्वास्थ्य उपचार, १०५ वटा करार उल्लंघन, ९८ वटा उद्धार, २९ वटा जेल, २६ वटा बेपत्ता तथा २६ वटा अन्य प्रकृतिका मुद्दा रहेका छन्। तीमध्ये ७ सय ७४ वटा मुद्दा सफलतापूर्वक समाधान गरिएको जनाइएको छ।कार्यक्रममार्फत वैदेशिक रोजगारीका क्रममा मृत्यु, दुर्घटना, ठगी लगायतका घटनामा परेका श्रमिक तथा परिवारका लागि विभिन्न निकायसँग समन्वय गरी हालसम्म ३२ करोड १४ लाख ५८ हजार ५१८ रुपैयाँ बराबरको आर्थिक सहायता तथा क्षतिपूर्ति प्राप्त गर्न सहजीकरण गरिएको छ।
मृत्यु भएका श्रमिकका परिवारलाई मात्रै २० करोड ४३ लाख ४४ हजार ५ सय १८ रुपैयाँ र दुर्घटना तथा स्वास्थ्य उपचारका घटनामा ६ करोड १२ लाख ९८ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउन भूमिका खेलेको तथ्यांकले देखाएको छ। मनोसामाजिक परामर्श सेवा पनि सामी कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष बनेको छ। २०७६ मंसिरदेखि २०८२ असार मसान्तसम्म ६ सय ६६ जनाले मनोसामाजिक परामर्श सेवा लिएका छन्। परामर्श लिनेमा ५ सय ८३ महिला र ८३ पुरुष रहेका छन्। डिप्रेसन, घरेलु हिंसा, आत्महत्याको सोच तथा अन्य मानसिक तनावका समस्यामा परेकालाई परामर्श प्रदान गरिएको थियो।त्यसैगरी २१ हप्ते वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामार्फत २ हजार ६ सय ११ जनालाई वित्तीय साक्षरता तालिम प्रदान गरिएको छ। तालिम लिनेमा २ हजार ५ सय ७६ महिला र ३५ पुरुष रहेका छन्। चालु आर्थिक वर्ष २०८२/०८३ मा मात्रै ३ सय ६४ जनाले वित्तीय साक्षरता कक्षा पूरा गरेका छन्। चालु आर्थिक वर्षमा आप्रवासी स्रोत केन्द्रबाट सेवा लिनेहरूको पालिकागत विवरणअनुसार व्यास नगरपालिका पहिलो स्थानमा रहेको छ। व्यासका १ हजार ५ सय ५३, शुक्लागण्डकीका १ हजार ३ सय २०, भानुका १ हजार १ सय ४४, भिमादका ८ सय ३४, म्याग्देका ६ सय ८४ तथा देवघाटका ३ सय ८ जनाले सेवा लिएका छन्।

नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी, पूर्व अध्यक्षहरू ओमकार आचार्य , उज्वल पौडेल , पूर्व उपाध्यक्ष शंकरराज नहर्की लगायत विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सामी कार्यक्रमले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन खेलेको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।




















