प्रहार समाचार । काठमाडौं, ७ बैशाख २०८३ सोमबार । सरकारी कर्मचारीको तलबभत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्दै सरकारले अब अर्धमासिक रूपमा अर्थात १५/१५ दिनमा तलब वितरण गर्ने तयारी गरेको छ। हालसम्म महिनाको अन्त्यमा एकमुष्ट रूपमा हुँदै आएको भुक्तानी प्रणालीलाई परिमार्जन गर्दै कर्मचारीलाई महिनामा दुई पटक तलब उपलब्ध गराउने निर्णय गरिएको हो।

अर्थ मन्त्रालयअन्तर्गत कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै नयाँ व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको छ। मिति २०८३ वैशाख ४ गते अर्थमन्त्रीस्तरबाट भएको निर्णयअनुसार अबदेखि कर्मचारीले नियमित रूपमा अर्धमासिक भुक्तानी पाउनेछन्।

यस परिवर्तनले कर्मचारीको नगद प्रवाह व्यवस्थापन सहज बनाउने अपेक्षा गरिएको छ। मासिक खर्च व्यवस्थापनमा सहुलियत पुग्ने तथा आर्थिक अनुशासन मजबुत हुने विश्वास सरकारको छ। साथै, नयाँ प्रणाली कार्यान्वयनका लागि सम्बन्धित निकायहरूबीच समन्वय गरेर आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अघि बढाइने बताइएको छ।



























