प्रहार समाचार । बुटबल, ५ बैशाख २०८३ शनिबार । रुपन्देहीमा मालपोत कार्यालयका एक कर्मचारी घुससहित रंगेहात समातिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग अवैध रकम असुल्दै गरेको अवस्थामा नायब सुब्बा ओमबहादुर खाम्चालाई नियन्त्रणमा लिएको हो। आयोगका अनुसार उनीबाट घुस लिएको स्पष्ट प्रमाण फेला परेको छ।

जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गरिदिने बहानामा सेवाग्राहीसँग रु. २ लाख घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ। नियन्त्रणका क्रममा उनको साथबाट उक्त घुस रकमसहित स्रोत नखुलेको थप रु. ३ लाख ५० हजार नगदसमेत बरामद गरिएको छ। साथै, घटनासँग सम्बन्धित एउटा मोबाइल फोन पनि जफत गरिएको छ।
खाम्चालाई सिद्धार्थनगर नगरपालिका–१३ क्षेत्रबाट पक्राउ गरिएको हो। आयोगले घटनालाई गम्भीर भ्रष्टाचारको रूपमा लिँदै थप अनुसन्धान अघि बढाएको जनाएको छ।



























