प्रहार समाचार । काठमाडौं, ५ बैशाख २०८३ शनिबार । देशभर यतिबेला मिश्रित मौसमको प्रभाव देखिएको छ । पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहँदा तराईका धेरै स्थानमा भने अत्यधिक गर्मी बढ्ने संकेत देखिएको छ । विशेषगरी मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा दिउँसो सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनीका पहाडी क्षेत्र र कर्णाली तथा सुदूरपश्चिमका हिमाली भागमा पनि आंशिक बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

मौसमविद्का अनुसार तत्काल नयाँ प्रणाली विकास नहुने भएकाले केही दिन यस्तै अवस्था कायम रहनेछ । तराईका जिल्लामा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहँदा धनगढी, नेपालगञ्ज र दिपायलजस्ता क्षेत्रमा उच्च गर्मी कायम रहने देखिएको छ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव सक्रिय रहेको छ ।



























