प्रहार समाचार । काठमाडौं, ४ बैशाख २०८३ शुक्रबार । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सामाजिक सञ्जालमार्फत जथाभावी चिकित्सा परामर्श दिने र औषधि सिफारिस गर्ने चिकित्सकप्रति कडा चेतावनी जारी गरेको छ। काउन्सिलले ‘अत्यन्त जरुरी सूचना’ प्रकाशित गर्दै बिरामीको प्रत्यक्ष परीक्षण नगरी औषधि सुझाउने तथा बिरामीको गोपनीयता उल्लंघन गर्ने गतिविधि तत्काल बन्द गर्न निर्देशन दिएको हो।

काउन्सिलका रजिस्ट्रार डा. सतिस कुमार देव द्वारा जारी सूचनामा टिकटक, इन्स्टाग्राम, फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत बिनापरीक्षण औषधि सिफारिस गर्नु गैरजिम्मेवार र अवैज्ञानिक भएको उल्लेख गरिएको छ। यस्ता क्रियाकलापले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने काउन्सिलको भनाइ छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पेशागत आचारसंहिता कडाइका साथ पालना गर्न चिकित्सकलाई निर्देशन दिँदै काउन्सिलले बिरामीसँग सम्बन्धित भिडियो वा सामग्री सार्वजनिक गर्दा पहिचान खुल्ने कुनै पनि विवरण गोप्य राख्नुपर्ने स्पष्ट पारेको छ।यसैगरी, सामाजिक सञ्जालमार्फत स्वास्थ्यसम्बन्धी जानकारी वा परामर्श दिँदा वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेशागत मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ। काउन्सिलले यी निर्देशनको उल्लंघन गर्ने चिकित्सकलाई प्रचलित कानुन तथा काउन्सिल ऐनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।



























