प्रहार समाचार । काठमाडौँ, २५ मंसिर २०८२ बिहीबार । नेपाल प्रिमियर लिग (एनपीएल) आज निर्णायक मोडमा पुगेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले लथालिंग पराजित भएपछि विराटनगर किंग्स ‘दोस्रो जीवन’ लिएर दोस्रो क्वालिफायरमा उत्रिएको छ । अर्कोतर्फ इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले पछार्दै लुम्बिनी लायन्स आत्मविश्वासको उच्च लयमा छ ।

दुई विपरीत मनोविज्ञान, एकै लक्ष्य—फाइनल प्रवेश। यही भिडन्त अपराह्न ४ बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ ।
लिग चरणको इतिहास लुम्बिनीको पक्षमा छ । त्यतिबेला ५ विकेटले विराटनगरलाई हराएको लुम्बिनी आज पनि त्यही ‘डोमिनेसन’ जारी राख्ने मनस्थितिमा देखिन्छ । तर विराटनगरसँग हारको घाउ र ‘कमब्याक’ गर्ने बाध्यता दुवै छ, जसले खेललाई थप तनावपूर्ण बनाएको छ।
आज विजयी हुने टोली उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार फाइनल भिडन्त खेलेर ट्रफीको दाबी गर्नेछ । आजको खेल केवल प्रतिस्पर्धा होइन—लुम्बिनीको निरन्तरता बनाम विराटनगरको बदला। परिणामले नै फाइनलको नक्सा कोर्नेछ।
























