हेडलाईनसमाचारसबै प्रदेश

तपाईको जन्ममिति त बिग्रिएको छैन ? एक पटकलाई सच्चाउन पाइन्छ है !

प्रहार समाचार । काठमाडौं, २४ मंसिर २०८२ बुधबार । के तपाईको जन्मदर्ता प्रमाणपत्रमा नाम, थर, उमेर वा अन्य विवरण मा फरक परेको छ ? त्यसो हो भने अब एक पटककका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विद्यालय भर्नाका प्रमाणित अभिलेखलाई नै आधार बनाएर जन्मदर्ता सच्याउन सकिने भन्दै औपचारिक स्पष्टिकरण जारी गरेको छ ।

विभागले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ को प्रावधान व्याख्या गर्दै १६ वर्ष नपुगेका बालबालिका, नागरिकता नभएका व्यक्तिहरू वा शैक्षिक प्रमाणपत्र नभएकाहरूका लागि स्वास्थ्य संस्थाले जारी गरेको जन्म प्रमाणपत्र वा विद्यालय भर्नाको प्रमाणित विवरण पर्याप्त हुने धारणा सार्वजनिक गरेको छ।

विभागका अनुसार विद्यालयले किटान गरी जारी गर्ने नाम, थर र जन्ममिति खुलेका भर्ना अभिलेख उपलब्ध भएको खण्डमा स्थानीय पञ्जिकाधिकारीले सोही आधारमा जन्मदर्ता प्रमाणपत्रका त्रुटि सच्याउन सक्नेछन्। यसअघि अभिलेख अभाव, अस्पष्टता र स्थानीय तहबीचको भिन्न व्याख्याका कारण सेवाग्राहीले धेरै प्रक्रिया धान्नुपर्ने समस्या दोहोरिँदै आएको थियो।

विभागले हिंजो एक परिपत्र गर्दै उक्त निर्णय गरेको शाखा अधिकृत मनि कुमार तामाङले जनाए । उनका अनुसार, नयाँ स्पष्टिकरणले जन्ममिति विवाद, नामथरका त्रुटि तथा अन्य विवरण मिलानको कार्यलाई स्थानीय तहमै छिटो र समानरूपले लागू गर्न सहयोग पुर्‍याउनेछ।

स्थानीय निकायहरूबाट उठेको भ्रम चिर्दै विभागले सबै ७५३ स्थानीय तह र ६७४३ पञ्जिकाधिकारी कार्यालयलाई संशोधित व्यवस्था स्पष्ट रूपमा पालना गर्न निर्देशन दिएको छ। यसले विशेषगरी ग्रामीण भेगका अभिभावक र अभिलेखीकरणमा पहुँच कमजोर वर्गलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button