प्रहार समाचार । काठमाडौँ, २३ असोज २०८२ बिहीवार । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–प्रशान्त छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार राति सम्पन्न पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनको फराकिलो अन्तरले पराजित गर्दै सुपर–६ चरणमा प्रवेशको सम्भावना बलियो बनाएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो। ओपनर कुशल भुर्तेलले जिम्मेवारीपूर्ण अर्धशतकसहित ६६ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरी र गुलसन झाले आक्रामक ब्याटिङ गर्दै क्रमशः २०–२० रन बनाए। गुलसनले विशेषगरी १९औँ ओभरमा लगातार तीन छक्का प्रहार गर्दै खेलको मोमेन्टम नेपालतर्फ ताने ।
जवाफी ब्याटिङमा उत्रिएको कुवेत नेपाली बलिङ आक्रमणअगाडि १८.१ ओभरमै ८३ रनमा अलआउट भयो। सन्दीप लामिछाने, रोहित पौडेल र ललित राजवंशीले दुई–दुई विकेट लिए भने सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक–एक विकेट झारे। कुवेतका क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए।
नेपाल समूह ‘बी’ मा जापान र कुवेतसँग रहेको छ। तीनै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्ने छन्। नेपालले अब आफ्नो दोस्रो खेलमा शुक्रबार जापानको सामना गर्नेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै समूहको शीर्ष दुईमा पर्न सफल टोलीले ‘सुपर–६’ चरणमा स्थान बनाउनेछ।

यसपटक एसिया र प्रशान्त क्षेत्रलाई एकै प्रतियोगितामा समेटिएकोले कडा प्रतिस्पर्धा देखिएको छ। नौ टोली सहभागी यस अन्तिम चरणको छनोटबाट शीर्ष तीन टोली सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन्।
























