प्रहार समाचार । काठमाडौँ, २३ असोज २०८२ बिहीवार । देशभर मनसुनी प्रणाली र स्थानीय वायुको प्रभाव कमजोर देखिएपछि आज अधिकांश स्थानमा मौसम खुल्ला र सफा रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागहरूमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ भने अन्य भागहरूमा मनसुनी वायुसँगै स्थानीय प्रभाव कमजोर बनेको छ ।

यस कारण, आज दिनभर देशभर व्यापक वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । यद्यपि, दिउँसो तथा रातिको समयमा देशका पहाडी भूभागका एक/दुई स्थानमा मात्रै हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
वर्षा हुने सम्भावना न्यून रहेकाले आज अधिकांश स्थानमा गर्मी महसुस हुने अनुमान गरिएको छ । मौसम खुल्ला रहँदा यात्रु, किसान तथा दैनिक कामकाजमा संलग्न सर्वसाधारणलाई राहत पुग्ने देखिएको छ । मौसमविद्हरूका अनुसार हाल मनसुन सुस्त अवस्थामा रहेकाले आगामी केही दिनसम्म पनि यस्तै मिल्दोजुल्दो अवस्था रहन सक्ने संकेत देखिएको छ ।
























